पोखरा– लेकसाइड क्षेत्रमा राति ११ बजेपछि होटलहरुमा गीत नबजाउन वडा प्रहरी कार्यालय बैदामले रेस्टुरेन्ट तथा होटल व्यवसायीसँग गरेको पत्राचारप्रति व्यवसायीले आक्रोस पोखेका छन्।
उनीहरुले होटल व्यवसायको रणनीति समय अनुसार परिवर्तन हुनुपर्ने माग राखेका छन्। लेकसाइडमा होटल व्यवसाय गर्दै आएका गणेश थापाले राज्यले सुरक्षा दिनुपर्नेमा उल्टै बन्द गर्न भन्नु आपत्तिजनक भएको बताए।
उनले भने, ‘व्यवसायमा अनुशासन कायम गर्ने काम मेरो हो। प्रहरी आएर हस्तक्षेप गर्न पाउँदैन।’
व्यवसायी थापाले प्रहरीले व्यक्तिगत प्रयोजनका लागि पत्राचार गरेको आरोप लगाए। व्यवसायी थापाले व्यवसाय स्वतःस्फूर्त चल्नुपर्ने माग राखे।
लेकसाइडमै होटल व्यवसाय गर्दै आएका राजेश गुरुङले देशमा रोजगारी छैन भनेर कुरा उठिरहेका बेला प्रहरीले भएका व्यवसायीलाई निरुत्साहित पार्न खोजेको बताए। उनले प्रश्न गरे, ‘हामी कर पनि तिर्ने, आयकर पनि तिर्ने, हामीलाई नै व्यवसाय बन्द गर भन्ने?’
पर्यटकलाई ढिलो समयसम्म होटलहरुमा बस्ने बानी परिसकेकाले त्यही अनुरुप सरकारले सोच्नुपर्ने गुरुङले सुनाए।
वडा प्रहरी कार्यालय, बैदामका प्रमुख डिएसपी नवीन कार्कीले भने पर्यटन व्यवसायीसँग भएकै सहमति कार्यान्वयन गर्न मात्रै पत्राचार गरेको नेपाल लाइभलाई जानकारी दिए।
‘११ बजेसम्म गीत बन्द गरिसक्नुपर्ने, साढे ११ बजेसम्म बिलिङ गर्ने अनि १२ बजेसम्म होटल बन्द गर्न सहमति भएको थियो’, उनले भने, ‘व्यवसायीले त्यो सहमति कार्यान्वयन नगरेका कारण पत्राचार गरेका मात्रै हौं।’
डिएसपी कार्कीले रातको समयमा चर्को स्वरमा गीत बजाउँदा लेकसाडमा बस्ने अन्य व्यक्तिलाई पनि समस्या भएकाले पत्राचार गर्नुपरेको बताए।
उनले भने, ‘यदि कसैले सहमति उल्लंघन गर्दै फेरि पनि रातको समयमा चर्को गीत बजाएमा कारबाही गर्न बाध्य हुनेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।