काठमाडौं– नेपालीहरुको हातमै पैसा गन्ने बानीका कारण बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन समस्या भएको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्।
नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर नेपालले पैसा हातमै गनेपछि मात्रै सन्तुष्ट हुने नेपालीको बानीका कारण प्रविधि भित्र्याउँदा विरोध हुने गरेको बताए।
उनले भने ‘हामीले दक्षिण एसियामै पहिलोपटक अनलाइन बैंकिङ ल्याउन खोज्यौं, तर त्यतिबेला सबैले पैसा गन्न मात्रै चाहनुभयो।’
उनले विश्वमा भएको प्रविधिको उच्च विकासको पहिलो र प्रत्यक्ष असर बैंकिङ प्रणालीमा पर्ने भएकाले प्रविधिको प्रयोगबिना बैंकिङ प्रणालीको विस्तार गर्न नसक्ने बताए। उनले विकसित मुलुकको प्रविधिलाई अध्ययन गरेर नयाँ प्रविधि भित्र्याउने तयारीमा राष्ट्र बैंक रहेको बताए।
गभर्नर नेपालले विगत सरकारको बजेटको नीति अनुसार नै आगामी आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति ल्याउने बताए। उनले निरन्तर दुई वर्षयता आर्थिक वृद्धि बढेको र अघिल्लो आर्थिक वर्षमा वृद्धिदर ६ प्रतिशतभन्दा माथि नै रहेको अवस्थामा आगामी आर्थिक वर्षमा ८ प्रतिशत वृद्धिदर सहजै हासिल गरिने बताए।
‘स्थायी सरकार गठन भएको र मुलुकमा लगानीको वातावरण बन्दै गएकाले सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धि हासिल हुनेमा कुनै शंका छैन’, उनले भने।
गभर्नर नेपालले उत्पादन तथा पूर्वाधार क्षेत्रको लगानी बढाउनेतर्फ मौद्रिक नीति केन्द्रित रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।