काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बढाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको १० महिनामा गत वर्षको यही अवधिमा भन्दा ११ दशमलव १ प्रतिशतले निक्षेप संकलन बढाएका हुन्।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ९ दशमलव ३ प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्षको १० महिनामा कर्जा प्रवाहमा वृद्धि भएको छ। यस अवधिमा वित्तीय संस्थाले अघिल्लो वर्षको तुलनामा १८ दशमलव १ प्रतिशत कर्जा प्रवाह बढाएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव ६ प्रतिशतले बढेको थियो।
निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८ दशमलव ३ प्रतिशत, विकास बैंकहरुको १८ दशमलव २ प्रतिशत र वित्त कम्पनीहरुको ११ दशमलव ४ प्रतिशतले बढेको छ।
१० महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ८० दशमलव २ प्रतिशत (५१ अर्ब ७६ करोड रुपैयाँ) ले वृद्धि भई ११६ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ दशमलव ९ प्रतिशत बढेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ११ दशमलव १ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३ दशमलव ६ प्रतिशतले बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा) १४ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।