काठमाडौं– सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई नेपाल आउनमा रोक लगाइएको छ। सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको हो।
किरण भुटानी शरणार्थी हुन्। हाल अमेरिकामा बसोबास गर्ने उनी भ्वाइसमा भाग लिन नेपाल आएका थिए। भ्वाइसको विजेता बनेपछि अमेरिका फर्किएका उनी सोमबार नेपाल आएका थिए। २०२१ का लागि उनको भिसा सकिएकाले अध्यागमनले उनलाई विमानस्थलबाटै फर्काएको अध्यागमन कार्यालयका प्रवक्ता झंकनाथ ढकालले बताए।
उनले भने, ‘पर्यटकीय भिसामा नेपालमा १५० दिनमात्रै बस्न पाइन्छ। उहाँ करिब करिब २२० दिन नेपाल बसेको कुरा छ। यो वर्षको लागि भिसा अवधि सकिएकाले उहाँलाई विमानस्थलबाटै फर्काइएको हो।’
किरण सोमबार कतार एयरवेजको क्यूआर ६५० कलसाइन जहाजबाट नेपाल आएका थिए। विमानस्थलमा उनको भिसाको म्याद सकिएको पाइएपछि उनलाई नेपाल प्रवेशमा रोक लगाइएको हो।
प्रवक्ता ढकालले भने, ‘उहाँसँग अरु कुनै भिसा भएको वा म्याद भएको भए प्रवेश पाउनु हुन्थ्यो। म्याद सकिएकाले रोक लगाएका हो। यो सामान्य कानुनी प्रक्रिया हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।