काठमाडौं- नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आए पनि उनीहरुको कमाइबाट भित्रिने रेमिट्यान्स (विप्रेषण) मा भने सुधार हुँदै आएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष सुरु भएको साउनदेखि बैसाखसम्म ६ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको १० महिनाको तुलनामा ७ प्रतिशतले बढी भएको बैंकले जानकारी दिएको छ। अघिल्लो आवको १० महिनामा ५ खर्ब ५ अर्ब ४२ करोड विप्रेषण भित्रिएको थियो। गत आवमा रेमिट्यान्सको वृद्धिदर ५.२ प्रतिशत थियो।
पछिल्लो समय अमेरिकी डलरमा भइरहेको थपघटका कारण रेमिट्यान्स वृद्धि भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडल बताउँछन्। विश्व बजारमा डलरले परेको प्रभावले गर्दा रेमिट्यान्समा सुधार आएको उनको भनाइ छ। 'रोजगारीमा गएका कामदारले पछिल्लो समय पारिश्रमिक पनि राम्रो पाउन थालेका कारण विप्रेषणमा सुधार आएको देखिन्छ,' उनले भने।
रेमिट्यान्समा सुधार आए पनि कामका लागि विदेशिनेको संख्या भने घटेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ६ प्रतिशतले गिरावट आएको वैदेशिक रोजगार विभागले जनाएको छ। यो अवधिमा कामको खोजीमा ४ लाख २० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन्। गत वर्ष सोही अवधिमा ४ लाख ५६ हजार युवा रोजगारीमा गएका थिए। गत आवमा ६ लाख ५२ हजार युवा कामको खोजीमा बाहिरिएका थिए।
२०७२ सालपछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वार्षिक रुपमै गिरावट हुँदै आएको थियो। गत आवमा भने वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको थियो। चालु आर्थिक वर्षको साउनदेखि बैसाखसम्म १० महिनाको अवधिमा ४ लाख १५ हजार युवा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। अघिल्लो आवको बैसाखसम्म ३ लाख ३४ हजारले अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।

पछिल्ला दिन मलेसिया जाने कामदारको श्रम स्वीकृति बन्द भए पनि १० महिनाको अवधिमा मलेसिया जाने नेपाली कामदारको संख्या सबैभन्दा धेरै छ। यो अवधिमा १ लाख ३० हजारभन्दा बढी कामको खोजीमा पुगेका छन्।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा गएका मध्ये मलेसियामा ३१ प्रतिशत, कतारमा २८ प्रतिशत, दुबईमा १५ प्रतिशत छन्। यसका साथै खाडी क्षेत्रका प्रमुख श्रम गन्तव्यहरू कतार, युएई, साउदी अरब, कुबेत, बहराइनमा भन्दा मलेसियाको औसत आय कम भएका कारण एक पटक मलेसिया पुगेका युवा अर्को पटक वैकल्पिक गन्तव्यका खोजीमा जाने गरेका हुन्।
चालु आर्थिक वर्षमा ७ खर्बभन्दा रुपैयाँ बराबरको विप्रेषण भित्रिने अनुमान गरिएको छ। गत वर्ष ७ खर्ब रुपैयाँ बराबर विप्रेषण भित्रिएको थियो। आर्थिक वर्ष २०६० र ०६१ सम्म देशमा वार्षिक ५८ अर्ब ६० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिँदै आएको बैंकको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षमा ७ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिने बैंकले अनुमान गरेको छ।
गएका ३ दशकमा वैदेशिक रोजगारीका लागि ४७ लाखभन्दा बढी युवा विदेश पुगेका छन्। जसमा ११ लाख महिला सरकारबाट श्रम स्वीकृति लिएर विदेशिएका छन्।
वैधानिक रूपमा विश्वका १ सय ११ देश वैदेशिक रोजगारीका लागि खुला गरिएको भए पनि १ सय ५३ मुलुकमा नेपाली कार्यरत छन्। रोजगारीमा मलेसिया र खाडीमा ९० प्रतिशतभन्दा बढी कामदार जाने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।