काठमाडौं- नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम जारी छ। दशैंको बिदाका कारण केही दिन भने खोप कार्यक्रम सञ्चालन भएको छैन। तर स्वास्थ्य मन्त्रालयले फेरि खोप अभियान चलाउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलव ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। हालसम्म६४ लाख ६९ हजार १५१ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयको तथ्यांक छ।
त्यसैगरी, ३८.६ प्रतिशत (८३ लाख ८८ हजार ४०२ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।
सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् दुई करोड १५ लाख जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। जसमा वैदेशिक रोजगारी वा अन्य कारणले देशबाहिर रहेका र बालबालिकाहरुको संख्या भने समावेश गरिएको छैन।
सरकारले दसैं अघिसम्म लक्षित जनसंख्यामध्ये एक तिहाइलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो।
नेपालमा अक्सफोर्ड एस्ट्राजेनेका, कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोग भइरहेको छ।
१८ वर्षमुनिका बालबालिकाका लागि नेपालमा फाइजर र मोडर्ना खोप आउने भएको छ। फाइजरको एक लाख डोज खोप भने अबको केही दिनभित्र आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।