काठमाडौं- हिपहप क्षेत्रको र्याप विधामा भगवानको संज्ञा दिइएका एक कलाकार हुन्, एमिनियम। अमेरिकी र्यापर एमिनियम आइतबार ४९ वर्षका भएका छन्। स्टेज नाम एमिनियमको नामले चर्चित मार्शल ब्रुस मैथर्सलाई स्लिम सेडी, बी रेबिट, र्याप गडजस्ता नामले पनि चिनिन्छन्।
एमिनियमले हालसम्म १५ ग्रामी अवार्ड, एक अस्करसँगै अन्य थुप्रै अवार्ड हात पारिसकेका छन्। एमिनियम एक मात्र यस्ता कलाकार हुन्, जसको गीतलाई युट्युबमा २०० करोडभन्दा धेरै पटक हेरिएको छ। योसँगै उनको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १५ वटा रेकर्ड रहेका छन्।
आज विश्वले नै चिन्ने एमिनियमको जीवनमा भने कैयौं दुःखका दिनहरु छन्। उनी आमाको लागुऔषध खाने बानीदेखि उनलाई दुई वर्षमै छाडेर जाने बुबाजस्ता थुप्रै दुःखका दिनहरु उनले भोगेका छन्। उनको जन्मदिनको अवसरमा उनी कसरी बुबाले छाडेर गएको टुहुरो बालकबाट विश्वले नै चिन्ने 'र्याप गड' बन्न पुगे भन्ने कुरालाई यहाँ चर्चा गरिएको छ।
सन् १९७२ अक्टोबर १७ मा अमेरिकाको मिजोरी सहरमा जन्मिएका थिए एमिनियम। जब उनी दुई वर्षका भए, उनको बुबाले उनलाई छाडेर गए। आमा लागुऔषधको नसामा भुलेकी हुन्थिन्। यसबीच एमिनियमको बाल्यकाल गरिब परिवारमा बित्यो। कैयौं पटक घरको भाडा तिर्न नसक्दा उनकी आमा र उनलाई घरबाट निकालिएको थियो। उनीहरुसँग भाडा तिर्ने कैयौं पैसा नभएकाले उनीहरु एक ठाउँबाट अर्को ठाउँमा भड्किन्थे।
नौ वर्षको उमेरमा एमिनियममाथि अश्वेत युवाहरुले हमला गरेका थिए। रंगभेदको विषयलाई लिएर भइरहेका घट्नाहरुबीच एमिनियम गोरा जातिको भएको भन्दै उनीमाथि हमला भएको थियो। अरु कसैले काला जातिमाथि गरेको व्यवहारको बदलामा एमिनियममाथि कुटपिट भएको थियो। उक्त कुटपिटका कारण एमिनियम १० दिनसम्म कोमामा पुगेका थिए।
काला जातिले आक्रोश पोख्ने सांगीतिक विधाको रुपमा विकास भएको र्याप संस्कृतिबीच एमिनियम पहिलो गोरा जातिका र्यापर थिए। उनी १६ वर्षका थिए, जब पहिलोपटक आफ्नो सांगीतिक जीवनको सुरुआत गरे। गोरा जातिका मानिस र्याप क्षेत्रमा प्रवेश गर्दा उनलाई निकै गाह्रो भएको थियो। रंगभेदका कैयौं घट्नाहरु उनले भोग्नुपरेको थियो।
एमिनियमको जीवनमा भएको अर्को घट्ना हो, उनी आफैं लागुऔषधको प्रयोगमा फस्नु। आफ्नी आमाको लागुऔषध प्रयोग गर्ने बानी थाहा पाएका एमिनियमले पनि सन् २००२ मा लागुऔषधको प्रयोग गर्न थालेका थिए। विस्तारै उनी निन्द्राको गोलीबाट अन्य लागुऔषध प्रयोग गर्न थाले। तीन वर्षसम्म विभिन्न प्रकारका लागुऔषध प्रयोग गरेका उनी २००५ मा भने यो सबैबाट छुटकारा पाउन सुधार केन्द्रमा भर्ना भए। तर, सुधार केन्द्रबाट निस्किएपछि पनि उनको लत भने छुटेन।

सन् २००७ मा मेथाडोन नामक लागुऔषधको अत्यधिक प्रयोग गरेर बिरामी भएका उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। उनको १२ चरणमा उपचार भयो। २००८ अप्रिल २० बाट भने उनी पूर्णरुपमा लागुऔषधको दलदलबाट बाहिर निस्किए।
एमिनियम यस्ता र्यापर हुन्, जसले हालसम्म छोटो समयमा धेरै शब्द गाउन सकेका छन्। २०१३ मा उनले आफ्नो गीत 'र्याप गड' सार्वजनिक गरेका थिए। उक्त गीतमार्फत् गिनिज बुकमा उनको नाम ३० सेकेण्डमा सर्वाधिक शब्द गाउने व्यक्तिको रुपमा लेखिएको थियो। उक्त गीतमा उनले १५ सेकेण्डमा ९७ शब्द गाएका थिए। प्रतिसेकेण्ड उनले ६.४६ शब्द गाएका थिए, जुन आफैंमा अचम्म लाग्ने थियो।
आफैंले राखेको रेकर्डलाई सन् २०२० मा आफैंले तोड्न सफल भए एमिनियम। २०२० मा आएको उनको गीत ‘गडजिला’मा उनले प्रतिसेकेण्ड ७.५ शब्द गाएका छन्। गीतमा ३० सेकेण्डमा २२५ शब्द गाएर एमियिमले आफ्नै रेकर्ड तोडेका थिए।
एमिनियम यस्ता गायक हुन्, जसको जीवनमा आधारित फिल्ममा अभिनय गरेका कारण उनलाई अस्कर अवार्ड दिइएको छ। सन् २००२ मा प्रदर्शनमा आएको एमिनियमको जीवनमा आधाति फिल्म ‘ऐट माइल’को गीत ‘लुज योरसेल्फ’लाई २००३ को अस्कर अवार्ड दिइएको थियो। रमाइलो कुरा त के छ भने यो अवार्डको घोषणा हुँदा एमिनियम अवार्ड वितरण समारोहमा थिएनन्। उनी आफ्नो घरमा सात वर्षीया छोरीसँग बसेर छोरीको मनपर्ने कार्टुन हेरिरहेका थिए।
२००३ मा आफूलाई दिइएको अवार्डका लागि उनले १७ वर्षपछि अस्करको स्टेजमा प्रस्तुती दिए। उक्त प्रस्तुतीमा कार्यक्रममा उपस्थित रहेका सबैले उभिएर उनको सम्मानमा ताली बजाएका थिए, जुन ताली कैयौं मिनेटसम्म गुञ्जिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।