दाङ- प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण सुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करिब ४० प्रतिशत सम्पन्न भएको छ।
चाइना ओभरसियस इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको आयोजनाका जनसम्पर्क अधिकारी गणेश श्रेष्ठले जानकारी दिए।
नेपालमै पहिलो र नयाँ प्रविधि टिबिएम मेसिनबाट निर्माण थालिएको सुरुङ मार्गमा प्रत्येक दिन ३० मिटर सुरुङ खन्ने काम भइरहेको छ। टनेलिङ प्रविधिबाट सुरुङ निर्माण भइरहेको हो। अमेरिकाबाट ल्याइएको सो मेसिनको प्रयोगले १२ किलोमिटर लामो सो सुरुङ बनाउन लागिएको हो। सुर्खेतको भेरी गंगा नगरपालिकाको चिम्लेस्थित भेरी नदीसम्म सुरुङ निर्माण हुनेछ।
यही गतिमा काम भए अबको ६ महिनामै सुरुङ मार्ग निर्माण सम्पन्न हुने जनसम्पर्क अधिकारी श्रेष्ठले बताए। ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके–बर्दियाको ५१ हजार जमिनमा सिँचाइ गर्ने उद्देश्यले २०७१ माघदेखि सो आयोजना सुरु भएको थियो।
रु १० अर्ब ५६ करोडभन्दा बढीको लगानीमा थालिएको आयोजना २०७५ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। हाल सुरुङ मार्ग निर्माणमा ८० चिनियाँ प्राविधिक र ५५० स्थानीयवासी संलग्न छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।