काठमाडौं– स्वास्थ्यकर्मीलाई सहज रुपमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ। विश्वमा स्वास्थ्यकर्मी नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै संगठनले उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो।
विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ।
सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म यतिधेरै स्वास्थ्यकर्मीको ज्यान गएको विश्व स्वास्थ्य संगठनको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रियेससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए। अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीको तथ्यांक हेर्दा ती देशका ४० प्रतिशतले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेको उनको भनाइ छ।
त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मी पहिलो पंक्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरुलाई खोप उपलब्ध गराउनुपर्ने उनले बताएका हुन्। अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको भन्दै विश्वका स्वास्थ्य संगठनले आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।