काठमाडौं– अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत सोमबार आइपुगेको एक लाख डोज फाइजर खोप कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्ष उमेर समुहकाबालबालिकालाई लगाइने भएको छ।
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी दिए।
त्यसका लागि काठमाडौं उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको दाहालले जानकारी दिए।
उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने उनले बताए। ‘१८ वर्षमाथिका दीर्घ रोगी धेरैले यसअघि खोप लगाइसक्नु भएको छ,’ उनले भने, ‘१२ देखि १८ वर्ष उमेरका बालबालिकालाई पुग्छ भन्ने अनुमान गरी खोप दिन लागिएको छ।’
सरकारले १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउने निर्णय गरेको छ। त्यसका नेपालले लागि फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेको छ।
फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने बताइएको छ।
नेपालमा आइतबारसम्म कूल जनसंख्याको २८ दशमलब ३ प्रतिशतले पहिलो मात्रा र २१ दशमलब ७ प्रतिशतले पूर्ण मात्रा कोभिड विरुद्धको खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।