दमौली- तनहुँका १० स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शून्य भएको छ। देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएका हुन्।
देवघाटका ९० र आँबुखैरेनीका १११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ। दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका एक सङ्क्रमितको मृत्यु भएको छ।
हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत कुसुम श्रेष्ठले जानकारी दिए। भानुमा पाँच, व्यासमा १३, शुक्लागण्डकीमा १६, भिमादमा तीन, म्याग्देमा ६, घिरिङमा एक, ऋषिङमा एक र बन्दीपुरमा एक सक्रिय सङ्क्रमित छन्। सबै सङ्क्रमित होम आइसोलेसनमा छन्।
जिल्लामा हालसम्म पाँच हजार ३७५ जनामा सङ्क्रमण पुष्टि भएकामा पाँच हजार २०४ जना निको भएका छन्। यसक्रममा १२४ सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ।
एक लाखभन्दा बढीले लगाए खोप
तनहुँमा एक लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। जिल्लाका एक लाख आठ हजार ३०१ जनाले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार ८३८ रहेको छ।
जिल्लामा विभिन्न चरणमा कोभिशिल्ड, भेरोसेल, जोन्सोन, एस्ट्राजेनेका खोप अभियान सञ्चालन हुँदै आएको छ। त्यसक्रममा ४५ वर्षमाथिका नागरिक, १८ वर्षमाथिका विद्यार्थी, व्यवसायी, पत्रकार, सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्राथमिकताका आधारमा खोप लगाइएको छ।
गण्डकीमा नौ लाखले लगाए खोप
गण्डकी प्रदेशमा हालसम्म नौ लाख १० हजार ४१५ जनाले कोरोना खोपको पहिलो मात्रा लगाएका छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या छ लाख २२ हजार ९६७ रहेको छ।
गोरखामा ७८ हजार ३१ ले पहिलो र ५६ हजार १०९ जनाले दुवै, कास्कीमा दुई लाख ७८ हजार २९७ जनाले पहिलो र एक लाख ८८ हजार ६२९ ले दुवै, लमजुङमा ६९ हजार ७६७ ले पहिलो र ५० हजार ९८५ ले दुवै, नवलपुरमा एक लाख आठ हजार ६३ ले पहिलो र ६९ हजार ५९६ ले दुवै, बागलुङमा ७४ हजार ११५ ले पहिलो र ५० हजार ३७२ ले दुवै, म्याग्दीमा ३९ हजार ५३२ ले पहिलो र २१ हजार ३३६ ले दुवै, पर्वतमा ४४ हजार ४१८ ले पहिलो र ३७ हजार ३८६ ले दुवै, स्याङ्जामा ९८ हजार ४४० ले पहिलो र ७१ हजार ८४३ ले दोस्रो, मनाङमा पाँच हजार ८८ ले पहिलो र चार हजार ४७९ ले दोस्रो, मुस्ताङमा छ हजार ३२७ ले पहिलो र छ हजार ३९४ ले दुवै मात्रा लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।