काठमाडौं- अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।
अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले शुक्रबार कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन आकस्मिक स्वीकृति प्रदान गरेको हो। यो कोरोनाको खोप यसअघि नै १२ वर्षदेखिका बालबालिकामा लगाउँदै आइएको छ।
यसअघि अमेरिकी सरकारको प्यानलले फाइजर खोप ५ वर्ष वा त्योभन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको थियो। आउँदो हप्तादेखि खोप लगाउन थालिने जनाइएको छ।
एफडिएका विज्ञहरुले मंगलबार खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका थिए। त्यसपछि शुक्रबार एफडिएले खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गरेको हो।
यता, हङकङका कोरोना खोप अभियानका विशेषज्ञ इभान हङ फानगाईले अब छिटै नै फाइजरको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिइने बताए।
फानगाईले शनिबार हङकङ प्रमुख क्यारी लामसँग भेटवार्ता गरेका छन्। भेटको क्रममा उनीहरुबीच बालबालिकालाई कोरोना खोप दिने विषयमा छलफल भएको जनाइएको छ।
गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो।
यो खोप वयस्क मानिसको तुलनामा बालबालिकालाई एक पटकमा एक तिहाइ डोज दिए पुग्छ। फानगाइका अनुसार शनिबार हुने बैठकमा तीन वर्षसम्मका बालबालिकालाई पनि कोरोना खोप दिने विषयमा पनि छलफल हुनेछ।
के खोप बालबालिकाका लागि सुरक्षित छ?
लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन्। तर, ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ।
यसै सन्दर्भमा लौरान निर्गाडको एक सर्वेक्षणले बताएअनुसार १२ देखि १७ वर्षका लाखौं बालबालिकाले अमेरिकामा सुरक्षित रूपमा फाइजर खोप लगाएपछि हाल अमेरिकीहरू यसको प्रभावकारिताबारे थप अनुसन्धान गरिरहेका छन्।
ती मध्ये ५ देखि ११ वर्षका बालबालिका र वयस्कहरूलाई दिइने खुराकको एक तिहाइ मात्रा दिइने गरेको छ।
खाद्य र औषधि प्रशासनले शुक्रबार बच्चाहरूलाई अनुकूल हुने प्रकारको डोज तयार पारेर रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूलाई सिफारिस गरेको छ।
यो खोपको बालबालिकामा पर्ने साइड इफेक्टका बारेमा अध्ययन भइरहेका बेला एमोरी विश्वविद्यालयका बाल हृदय रोग विशेषज्ञ डा म्याथ्यू ओस्टरले खोपपछि कहिलेकाहीँ बच्चाहरूमा पनि विभिन्न खालका असरहरू देखिन सक्ने हुन्छ जसलाई कोरोना संक्रमणपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम भनिन्छ भनेर औँल्याएका छन्।
केही बालबालिका र वयस्यहरूमा मुटु सुन्निने लगायतका गम्भीर साइड इफेक्ट देखिने गरेको पनि उनले बताएका छन्। तर, खोपले काम गर्न थालेपछि यस्ता सामान्य समस्या आफै निको हुने पनि विज्ञले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।