काठमाडौं- र्यापर भिटेन (समिर घिसिङ)को नयाँ गीत ‘गल्ली सडक’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत् उनले शनिबार साँझ आफ्नो नयाँ गीत सार्वजनिक गरेका हुन्।
भिटेनकै शब्द, संगीत तथा कन्सेप्टमा रहेको गीतको भिडियो सार्वजनिक भएको २४ घण्टा नबित्दै चार लाखभन्दा धेरै दर्शकले हेरिसकेका छन्। र, उक्त भिडियो अहिले ट्रेण्डिङको तेस्रो नम्बरमा पुगेको छ।
स्वतन्त्र रुपमा गाएका गीतहरुकै विषयलाई लिएर पटक-पटक पक्राउ परेका भिटेनले आफ्नो गीतमा पनि यही विषयलाई समेटेका छन्। भिडियोमा पनि उनले आफूमाथि प्रहरीले गरेको दमनको विषयलाई समेटेका छन्। आफूले रोजेको बाटो समाज र प्रशासनको लागि गलत भए पनि आफूले यी सबै कुरा समाजबाटै पाएको गीतमा बताएका छन्। सँगै उनले बिग्रिएको समाजलाई थप बिगारेर के हुन्छ भन्ने प्रश्न पनि गीतमार्फत् उठाएका छन्।
पुराना गीतहरुमा जस्तै भिटेनले यसपटकको गीतमा पनि थुप्रै अपशब्दहरु प्रयोग गरेका छन्। यसअघि भिटेनलाई प्रहरीले आफ्नो गीतमा ‘अश्लील’ शब्द प्रयोग गरेको भन्दै पक्राउ गरेको थियो।
गीतको भिडियोलाई भिटेन र जेम्स लामाले संयुक्तरुपमा निर्देशन गरेका छन्। गीतमा प्रयोग भएको बिटलाई 'बिट्सबाइहाइप'ले उत्पादन गरेको हो। सँगै गीतको भिडियोमा प्रयोग भएको भीएफएक्स र यसको सम्पादन जेम्सले गरेका छन्। भिडियोलाई जेम्स, राजन पुरी र अनिश गैरेले संयुक्त रुपमा खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।