काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले व्यवस्थित योजना बनाएर कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकमा कोभिड संक्रमणको सम्भावित तेस्रो लहरको जोखिम रोक्ने विषयमा छलफल भएको हो।
बैठकमा सहभागी मन्त्री तथा विभिन्न निकायका प्रमुख/प्रतिनिधिहरुले आ–आफ्नो कार्य क्षेत्रभित्र पर्ने विषयमा कार्यक्रम तयार गरी व्यवस्थित रुपमा कोभिडको संक्रमण नियन्त्रण गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे।
गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मीनेन्द्र रिजाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा सहभागी थिए। बैठकमा मुख्य सचिव शंकरदाश बैरागी, सम्बन्धित मन्त्रालयका सचिव, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत गणेश अधिकारी समेत सहभागी थिए।
‘कोभिड–१९ को संक्रमण पुनः बढ्न नदिन यससँग सम्बन्धित मन्त्रीहरू, मुख्यसचिव, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसँग कार्यवाहक प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको हो,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेलले भने, ‘बैठकमा चाडबाडको मुखमा भिडभाड बढ्ने र भिडका कारण कोभिडको संक्रमण बढ्न सक्ने अवस्थाबारे छलफल गरिएको थियो।'
बैठकमा नेपालमा चाडबाडका समयमा हुने अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न कार्यवाहक प्रधानमन्त्री खाणले सुरक्षा निकायलाई निर्देशन दिए। सरकारको प्रमुख दायित्व नागरिककको जीवन रक्षा भएकाले त्यसतर्फ ध्यान दिन पनि खाणले निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।