काठमाडौं - नेपालमा कोरोना संक्रमितको ग्राफ दैनिक ओरालो लाग्दैछ। हाल दैनिक ५ सयभन्दा तलको संख्यामा मात्र संक्रमित भेटिने गरेका छन्। तर यसको अनुपातमा आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्यामा भने त्यति कमी आउन सकेको छैन। अझै पनि २४२ जना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा छन्। यद्यपि दैनिक रुपमा भने यो संख्या घट्दै गएको छ। गएको २५ दिनको तथ्यांक मात्र लिने हो भने पनि आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या घट्दो क्रममा देखिन्छ।
आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीको उपचार लामो समयसम्म चल्ने भएकाले पनि संक्रमितको संख्या घटेजस्तो गम्भीर संक्रमण देखिएर आईसीयू र भेन्टिलेटरमा भर्ना भएकाको संख्यामा कमी नदेखिएको चिकित्सक बताउँछन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा हाल पनि दैनिक ४/५ जना संक्रमित भर्ना हुने गरेका छन्। भर्ना हुने अधिकांशजसो गम्भीर खालका बिरामी हुने गरेको कोभिड व्यवस्थापन समितिका सदस्य डा निरज बमले बताए।
उनले भने, ‘अहिले कोरोना संक्रमण घटिरहेको छ। तर अस्पतालमा भर्ना हुने क्रम अझै पनि छ। हाल दैनिक ४/५ जना संक्रमित भर्ना भइरहेका छन्। र, अधिकांशजसो गम्भीर खालका बिरामीहरु छन्।’
त्रिवि शिक्षण अस्पतालमा धेरैजसो बिरामी निजी अस्पताल र बाहिरी जिल्लाबाट रिफर भएर भर्ना हुने आउने गरेका छन्। खोपको दुवै डोज पुरा गरेका व्यक्तिहरु पनि संक्रमित भएर अस्पताल आउने गरेको डा बमले बताए। तर कोरोना संक्रमितको संख्या भने घट्दै गएको उनले बताए।
‘खोप लगाएका धेरै व्यक्तिहरुमा पनि संक्रमण भएको छ। तर उनीहरुमा गम्भीर समस्या उत्पन्न हुने त्यति देखिएको छैन’ उनले भने।
ढुक्क हुने अवस्था आइनसकेको भन्दै डा बमले मास्क तथा स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम गर्न आग्रह गर्छन्।
त्रिवि शिक्षण अस्पतालमा हाल १० जना आईसीयू, ७ जना एचडीयू र जनरल वार्डमा १३ जना गरी ३० जना संक्रमित उपचाररत छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भर्ना हुने संक्रमितको संख्या घट्दो छ। यहाँ ४ जना आईसीयू र ६ जना क्याबिनमा गरी १० जना संक्रमित उपचाररत छन्।
अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीको संख्या शुक्रराज अस्पतालमा घट्दै गएको निर्देशक डा अनुप बास्तोलाले बताए। आईसीयू र भेन्टिलेटरमा भर्ना भएका बिरामी डिस्चार्ज हुने केही हप्ता र महिना लाग्ने भएकाले पनि संख्यामा कम नदेखिएको हुन सक्ने उनले बताए। अस्पतालमा पुरानो बिरामी मात्र उपचारमा रहेको र नयाँ भर्ना खासै नभएको उनले बताए।
‘कोरोना संक्रमितको संख्या घट्दो छ। यहाँ पुराना बिरामीहरु छन्। नयाँ बिरामीहरु खासै आएको छैन,’ उनले भने, ‘आईसीयू र भेन्टिलेटरमा भर्ना हुने बिरामीहरु आज भोलि नै डिस्चार्ज हुने हुँदैन। उनीहरुलाई १४ दिन, २०/२५ दिन भर्ना भएर उपचार गर्नुपर्ने हुन्छ।’
हाल कोरोना संक्रमितको संख्या घट्दै जानु नै सकारात्मक कुरा भएको उनको भनाई छ। यद्यपि अझै पनि जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न उनको आग्रह छ।
उनले भने, ‘अझै पनि केसहरु त भेटिरहेका छन्। जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै पर्छ। अनि, कोभिड भ्याक्सिन पनि सबैको पहुँचमा पुर्याउन आवश्यक छ।’
पछिल्लो २५ दिनको तथ्यांक
कार्तिक २५ – आईसीयू १८८ र भेन्टिलेटर ५४
कार्तिक २४ – आईसीयू १८९ र भेन्टिलेटर ५३
कार्तिक २३ – आईसीयू १९९ र भेन्टिलेटर ५५
कार्तिक २२ – आईसीयू १८७ र भेन्टिलेटर ४३
कार्तिक २१ – आईसीयू १९७ र भेन्टिलेटर ४९
कार्तिक २० – आईसीयू १९६ र भेन्टिलेटर ५०
कार्तिक १९ – आईसीयू २०० र भेन्टिलेटर ५५
कार्तिक १८ – आईसीयू २१५ र भेन्टिलेटर ५७
कार्तिक १७ – आईसीयू २२३ र भेन्टिलेटर ५९
कार्तिक १६ – आईसीयू २४१ र भेन्टिलेटर ७४
कार्तिक १५ – आईसीयू २४१ र भेन्टिलेटर ७४
कार्तिक १४ – आईसीयू २२५ र भेन्टिलेटर ७०
कार्तिक १३ – आईसीयू २३४ र भेन्टिलेटर ६८
कार्तिक १२ – आईसीयू २४२ र भेन्टिलेटर ७८
कार्तिक ११ – आईसीयू २४८ र भेन्टिलेटर ८१
कार्तिक १० – आईसीयू २५४ र भेन्टिलेटर ८६
कार्तिक ९ – आईसीयू २५४ र भेन्टिलेटर ८०
कार्तिक ८ – आईसीयू २५४ र भेन्टिलेटर ७४
कार्तिक ७ – आईसीयू २७३ र भेन्टिलेटर ८५
कार्तिक ६ – आईसीयू २६८ र भेन्टिलेटर ८०
कार्तिक ५ – आईसीयू २७९ र भेन्टिलेटर ९१
कार्तिक ४ – आईसीयू २८८ र भेन्टिलेटर ९८
कार्तिक ३ – आईसीयू २७६ र भेन्टिलेटर १०४
कार्तिक २ – आईसीयू २६७ र भेन्टिलेटर ८६
कार्तिक १ – आईसीयू २८० र भेन्टिलेटर ९९
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।