काठमाडौं– स्वर्गीय लोक गायक राम थापाले गाएको गीत ‘कति बस्छौ माइतीकै कौसीमा’को रिमेक बनेको छ। उक्त गीतको रिमेक छक्का पञ्जा टिम बनाएको हो।
रिमेक गीतमा अञ्जु पन्त र हिमाल श्रेष्ठले स्वर दिएका छन्। थापाकै शब्द तथा संगीतमा भीम विष्टले थप शब्द तथा संगीत भरेर गीतलाई नयाँ शैलीमा ल्याएका छन्। गीतको एरेन्ज उदय राज पौडेलले गरेका छन् भने मिक्सिङ श्याम स्वेत विस्टले गरेका छन्।
फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियोमा ‘छक्का पञ्जा’ टिमको तर्फबाट दिपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), निर्मल शर्मा र रामशरण गनगमलगायतको अभिनय छ। भिडियोको निर्देशक ‘छक्का पञ्जा’ टिमले नै गरेको छ।
भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने यसको सम्पादन तथा रंग संयोजन टेकेन्द्र शाहले गरेका छन्। भिडियोमा कोरियोग्राफी बिक्रम स्वारको रहेको छ।
आगामी वर्षको दशैं ताका प्रदर्शनमा आउने भनिएको ‘छक्का पञ्जा ४’ फिल्मको अहिले देखि नै प्रचारमा जुटिरहेको टिमले यो गीत पनि प्रचारकै रुपमा ल्याएको छ।
गीतमा फिल्ममा जस्तै कथा बुन्ने मात्र नभएर गीतको अन्त्यमा ‘छक्का पञ्जा ४’कै विज्ञापन गरिएको छ।
हेर्नुहोस भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।