काठमाडौं– नेपालमा हालसम्म एक करोड ६९ लाख मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अभियान सुरु भएको १० महिनाको अवधिमा एक करोड ६८ लाख ८३ हजार १६० मात्रा खोप लगाएको हो।
नेपालमा गत माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन र एस्ट्राजेनेका खोप लगाइएको छ। हाल नेपालमा ७८ लाख ७६ हजार ७ सय ३ जनाले पूर्णमात्रा र ९१ लाख ९ हजार ६ सय ६६ जनाले एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। त्यस्तै हालसम्म लक्षित समूहको ४६ प्रतिशतले पहिलो मात्रा र ३९ प्रतिशतले दोस्रो मात्रा खोप पाएको मन्त्रालयको तथ्यांक छ।
परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार प्रदेश १ मा ३९ प्रतिशतले पहिलो मात्र खोप लगाएका छन्। सो प्रदेशमा २४ प्रतिशतले दोस्रो खोप लगाएका छन्।
प्रदेश २ मा ३३ प्रतिशत जनसंख्याले पहिलो मात्रा, १७ प्रतिशत दोस्रो मात्रा लगाएको मन्त्रालयको भनाइ छ। बागमती प्रदेशमा ६९ प्रतिशत पहिलो मात्रा खोप लगाउँदा ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन्।
त्यसैगरी गण्डकीमा ६१ प्रतिशतले पहिलो मात्रा र ३७ प्रतिशतले दोस्रोमात्र खोप लगाएका छन्। लुम्बिनी प्रदेशमा ३८ प्रतिशतले पहिलो मात्रा २७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको तथ्यांक छ । कर्णालीमा भने ३३ प्रतिशतले पहिलो तथा २२ प्रतिशत दोस्रो मात्रा खोप लगाएका छन्। त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ४० प्रतिशतले पहिलो मात्रा, २९ प्रतिशत जनसंख्याले दोस्रो र ७ प्रतिशत जोन्सन खोप लगाएका छन्।
परिवार कल्याण महाशाखाका अनुसार नेपालमा हालसम्म अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत २ करोड ५४ लाख ७० हजार ६३० डोज खोप आइसकेको छ। नेपालले एक करोड ४७ लाख ७०८ डोज भेरोसेल खोप चीनबाट ल्याएको हो।
त्यस्तै १ लाख ६२० डोज फाइजर कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाएको महाशाखाले जनाएको छ। त्यसैगरी, ३ लाख ४८ हजार डोज एस्ट्राजेनिका क्यानेडियन सरकारले नेपाललाई उपलब्ध गराएको थियो।
भारतबाट अनुदानमा कोभिशिल्ड १० लाख मात्रा, नेपाली सेनालाई कोभिशिल्डकै एक लाख मात्रा, चीनबाट अनुदान सहयोगमा हालसम्म १८ लाख मात्रा भेरोसेल खोप, गाभीमार्फत ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप नेपालले प्राप्त गरेको छ।
यस्तै, अमेरिकाबाट जोनसन एण्ड जोनसन खोप १५ लाख ३४ हजार मात्रा नेपालले अनुदानमा प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।