काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करण आजबाट प्रसारण हुँदै छ। बिहीबारबाट कार्यक्रमको चौथो संस्करण एपिवान टेलिभिजनबाट प्रसारण हुन लागेको हो।
कार्यक्रम हरेक बुधबार र शुक्रबार राति ८ः३० मा प्रसारण हुनेछ। अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘आइडल’को फ्रेञ्चाइजका रुपमा रहेको यो कार्यक्रम सन् २०१७ देखि नेपालमा सुरु भएको थियो। एपिवान टेलिभिजनले कार्यक्रम निर्माता ‘फ्रेमेन्टल मिडिया’मार्फत नेपालमा फ्रेन्चाइज ल्याएको कार्यक्रमले हालसम्म तीन जना नेपाल आइडल उत्पादन गरिसकेका छन्।
विगतका संस्करणमा भएका निर्णायक यसपटक देखिने छैनन्। न्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटाले कार्यक्रमको तेस्रो संस्करणसम्म निर्णायकको भूमिकामा रहेका थिए। यो वर्षबाट भने उनीहरुको ठाउँमा सम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेलले निर्णायकको भूमिकामा देखिनेछन्।
कार्यक्रमको सञ्चालनको रुपमा यो वर्ष आशिफ शाहले निरन्तरता पाएका छन्। दोस्रो संस्करणमार्फत कार्यक्रममा सञ्चालनको रुपमा भित्रिएका उनी यो चौथो संस्करणमा पनि देखिनेछन्। उनीसँग यो वर्ष कार्यक्रमलाई रेश्मा घिमिरेले सञ्चालन गर्नेछिन्। चौथो सस्करणको आइडललाई सुरेश पौडेलले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।