काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतरबाट सभापतिका आकांक्षी डा शेखर कोइरालाले आफूलाई ‘आशीर्वाद दिन’ सभापतिका अर्का आकांक्षी, वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।
बिहीबार पौडेललाई भेट्न बोहराटारस्थित पौडेल निवास पुगेका कोइरालाले यस्तो आग्रह गरेका हुन्।
कांग्रेसको संस्थापनइतरमा सभापतिको साझा उम्मेदवार बनाउन पछिल्लो तीन दिनयता निकै रस्साकस्सी चलिरहेको छ। तर, नेताहरु सहमतिमा पुग्न सकेका छैनन्। संस्थापनइतरबाट सभापतिमा पौडेल, कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइरालाले दाबी गरेका छन्। डा. शशांकले भने सहमति भएमा आफू दाबेदारीबाट पछि हट्न तयार रहेको बताइसकेका छन्।
करिब आधा घण्टा भएको भेटवार्तामा शेखरले पौडेललाई भनेको कुरा उद्धृत गर्दै शेखरका सहयोगी दिनेश थपलियाले भने, ‘प्रकाशमान सिंह लड्छु नै भन्दै हुनुहुन्छ। अब तपाईं के गर्ने, लड्ने कि नलड्ने? म चाहिँ सभापतिमा लड्ने नै भएँ। मलाई तपाईंको आशीर्वाद चाहियो।’
त्यसक्रममा शेखरले आफू साझा उम्मेदवार बनाउन सकिन्छ भने सहमतिका लागि अझै पनि तयार रहेको बताएका थिए।
त्यसलगत्तै शेखरले आफूनिकट जिल्ला सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।