काठमाडौं– संस्थापनइतरको एकल उम्मेदवारीका लागि युवा नेताहरुले सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई उनकै निवासमा पुगेर सहमति भएमा त्याग गर्न आग्रह गरेका छन्।
संस्थापनइतरका अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसी सिंह निवास चाक्सीबारी पुगेर यस्तो आग्रह गरेका हुन्। बिहान अनुपम फुडल्याण्डमा आयोजित छलफलपछि नेताहरुले आजै जसरी पनि सभापतिको साझा उम्मेद्वार तय गर्ने भन्दै आकांक्षीहरुसँग छलफल तिव्र पारेका थिए।
हालसम्म सो पक्षबाट सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र शशंका कोइरालाले सभापतिमा दाबी गरेका छन् ।
उनीहरुमध्ये कसैले पनि आफ्नो दाबी नछाडेपछि युवा नेताहरुले सक्रियता बढाएका हुन्। छलफल गरेर सहमतिमा एकल उम्मेदवार बनाउन सके मात्र सभापतिको प्रवल दावेदार हुन सकिने अन्यथा वर्तमान सभापति शेरबहादुर देउवाकै लागि सहज हुने भएकाले मिल्नुको विकल्प नरहेको उनीहरुको भनाइ थियो। भेटमा नेता सिंहले अफ्नै नाममा सहमति खोज्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।