काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई नेपाली कांग्रेस नेता गगन थापाले काउन्टर दिएका छन्।
कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले बिहीबार अवधारणापत्र सार्वजनिक गर्दै ओलीले अघि सारेको उक्त अवधारणामा आम नागरिक नरहेको दाबी गरेका छन्।
उनले भने, ‘एउटा पार्टी र नेताको मुखबाट सुन्नुभएको छ, समृद्ध नेपाल, सुखी नेपाली। त्यो र समुन्नत नेपाल र सम्मानित नेपालीमा आधारभूत फरक छ।’
उनले ‘समृद्ध नेपाल’का विषयमा व्याख्या गर्दै भने, ‘समृद्ध नेपाल नेपालमा एअरपोर्टको संख्या बढ्यो भने, चुच्चे रेल दुईतिरबाट आयो भने, पानीजहाज हुइँकियो भने, धरहराबाट हेर्न पाइयो भने हुन्छ। तर, समृद्धिभित्र रेल छ, चढ्ने मान्छेको अत्तोपत्तो छैन। भ्युटावर छ, तर तलका मान्छे त्यसबाट देखिदैन।’
उनले ‘समुन्नत नेपाल’ अवधारणालाई नाप्ने स्केल हुने बताए। उनले थपे, ‘पाँच वर्षपछि देश समुन्नततर्फ कति गयो? त्यो नाप्ने स्केल हुन्छ। वंश, जात र लिंगको आधारमा प्राप्त गर्ने विशेषअधिकार आज भन्दा भोलि घट्दै गयो भने हामी समुन्नतितर्फ गयौं भन्छौं।’
उनले प्रत्येक नेपालीसँग असिमित क्षमता रहेको तर त्यसका लागि शिक्षा र स्वास्थ्य पहुँच जरुरी भएको बताए।
यसैगरी हिंसा र विभेदका संरचनामा घट्दै गयो र सामूहिकताको भावनाबाट नेपाली हुनुमा गौरव गर्न सकियो भने मात्रै त्यसको अर्थ हुने बताए।
उनले आफूले महामन्त्रीको उम्मेदवारी दिँदै गर्दा गरेको उक्त राजनीतिक संकल्प पूरा गन सैद्धान्तिक रुपरेखा समेत तयार पारेको बताए। उनले भने, ‘मसँग त्यो रुपरेखा छ, त्यो सामाजिक लोकतन्त्र हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।