काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीको लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफू महामन्त्रीमा निर्वाचित भए गलत व्यक्तिलाई छानिएछ भनेर सोच्ने अवस्था आउन नदिने बताएका छन्।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित उम्मेदवारीको अवधारणा सार्वजनिक कार्यक्रममा उनले आफूले विद्यार्थी आन्दोलन, सांसद तथा मन्त्रीको रुपमा काम गर्दा कांग्रेस सदस्यको शीर निहुर्याउन नदिएको बताए। ‘यो केटो, साथी, भाइ, दाइ, छोरा कांग्रेस हो भन्दै गर्दा ‘यस्तो पनि कांग्रेस हुन्छ’ भन्ने अवस्था मैले आउन दिएको छैन’, उनले भने, ‘भोलि महामन्त्री हुँदै गर्दा पनि, तपाईंले मलाई मत हाले पनि, नहाले पनि, म महामन्त्री भएर काम गर्दै गर्दा नेपाली कांग्रेसको महामन्त्री गलत व्यक्तिलाई छानिएछ भनेर एक क्षण पनि तपाईंले सोच्ने अवस्था आउने छैन।‘
उनले कांग्रेसको महामन्त्री भएर पार्टीको गौरवाशाली परम्परालाई ठेस नपुर्याइकन अगाडि बढाउने बताए। ‘थप समृद्ध बनाउनेछु भन्ने विश्वास लिएर सपथ खाएर तपाईंहरुको बीचमा उभिएको छु’, उनले भने, ‘बाँकी तपाईंहरुको हातमा छ। तपाईंहरुले जिम्मा दिँदै गर्दा त्यो विवेकको मतलाई एउटा मतमाथि पनि अन्याय हुन दिन्नँ।‘
उनले महामन्त्रीको मत माग्दै गर्दा आफू मैले यो गरेर आएँ भनेर नभई चार वर्ष महामन्त्री भएँ भने यो गर्छु भन्ने प्रस्तावको आधारमा आएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।