काठमाडौं– नेपाली कांग्रेस यतिबेला १४औं महाधिवेशनको पूर्वसन्ध्यामा छ। अब कांग्रेसको नेतृत्व गर्ने चाहना राख्ने नेताहरूले आफूलाई अनेक तरिकाले प्रस्तुत गरिरहेका छन्।
कांग्रेस महामन्त्रीका दाबेदारमध्ये एक गगन थापाले बिहीबार काठमाडौंको प्रज्ञा भवनमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा र अवधारणा पत्र सार्वजनिक गर्न कार्यक्रम गरे। कार्यक्रमबाट उनले आम कांग्रेसजनलाई आफ्नो उम्मेदवारीको कारण अर्थ्याए। आफूले नेतृत्व प्राप्त गर्दा बनाउन चाहेको कांग्रेस र देशको ‘अवधारणा पत्र’ सार्वजनिक गरे।
परम्परागत अभ्यासभन्दा फरक तरिकाले अघि बढ्न खोजेका थापाले यसपल्ट अपेक्षित उपलब्धि हासिल गर्न सक्लान् वा १३औं महाधिवेशनको अर्को संस्करण भोग्लान्? त्यसको निर्क्योल हुन अझै केही दिन लाग्नेछ।
तर, प्रज्ञा भवनमा कांग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थितिले थापाप्रतिको विश्वास भने झल्काउँछ। नयाँ पुस्ताका प्रतिनिधिहरूले उनीप्रति आशा गरेका छन् भने कांग्रेसलाई नयाँ पुस्ताको समेत पार्टी बनाउन चाहनेले उनको नेतृत्व जरुरी रहेको महसुस गरेका छन्।
नयाँ पुस्ताको आशा
थापाको कार्यक्रममा आउनेमा धेरै महाधिवेशन प्रतिनिधि थिए। महामन्त्रीका उम्मेदवार थापालाई शुभकामना दिन मात्रै होइन, यसपल्ट जिताइछाड्ने प्रतिबद्धता समेत बोकेर त्यहाँ पुग्नेहरू थिए। तिनैमध्येकी एक हुन्, गोरखाकी प्रतिमा भट्ट। २०६८ सालपछि कांग्रेस राजनीतिमा लागेकी उनी आफूलाई ‘चौथो पुस्ताकी कांग्रेस’का रुपमा चित्रित गर्छिन्।
यसपल्ट नेपाली कांग्रेसको नेतृत्वमा विगतभन्दा फरक परिणाम आउनेमा उनी आशावादी छिन्। नयाँ भिजन भएका र आफ्नो मुद्दा स्थापित गर्न सक्ने नेताहरू यसपल्ट प्रतिनिधिहरूको छनोटमा पर्ने उनको बुझाइ छ। भन्छिन्, ‘मर्निङ सोज द डे भनेजस्तै हामी प्रतिनिधिमा छानिएरै कांग्रेसमा केही फरक हुने संकेत दिइसक्यौं। देशभरबाट धेरै युवाहरू प्रतिनिधि भएर आउनु भनेको नेतृत्वमा पनि भिजनसहितको युवा नेता छान्छौं भन्ने हो।’
कांग्रेस महामन्त्रीमा दुईजनालाई भोट दिन पाइनेछ। एउटा भोट उनले गगन थापालाई दिने उनले निश्चित गरिसकेकी छन्। ‘महामन्त्री गगन थापा किन?’ भनेर नेपाल लाइभले गरेको प्रश्नमा भट्टको उत्तर छ, ‘अहिलेसम्म देखेको नेता हजुरबा पुस्ताको हुनुहन्छ। उहाँहरूले आफ्नो क्षमताले सक्ने काम गर्नुभयो। अब थाकिसक्नुभयो। ६० वर्षअघिको अजेण्डाले कांग्रेस अघि बढ्न सक्दैन।’
विपीले देखेको समाजवादबाट केही वर आएर सोच्नुपर्ने उनले बताइन्। ‘अब विपीले भनेजस्तै एकहल गोरु, एउटा दुहुनो गाइ र बस्ने एउटा घरमा मात्रै सीमित रहेको हुँदैन,’ उनको तर्क छ, ‘आफ्नै घर नभएर केही हुँदैन, बस्नका लागि छत होस्। हरेक युवा अर्थोपार्जनमा जोडिऊन्। राजनीतिसँगै पेट भर्ने नेता होऊन्।’
युवाको पार्टी बनाउने चाहनाको केन्द्रमा गगन
नेपाली राजनीतिमा अमिट छाप छाडेर केही समयअघि मात्रै दिवंगत भएका कांग्रेस नेता हुन्, गिरिजाप्रसाद कोइराला। भोजपुरबाट कांग्रेसकै महाधिवेशन प्रतिनिधि छानिएर आएका छन्, त्यही नाम बोकेका अर्का गिरिजाप्रसाद कोइराला। उनलाई कांग्रेसले नेतृत्व परिवर्तन खोजिरहेको महसुस भइरहेको छ।

थापाको कार्यक्रमस्थलमै भेटिएका उनले भने, ‘म सुदृढ र गतिशील कांग्रेस चाहन्छु। युवालाई साथ लिएर अघि बढ्ने सिर्जनशील, दृढ र ऊर्जाशिल नेता चाहन्छु। यो महाधिवेशनबाट त्यस्तो नेतृत्व ल्याउने प्रयास रहनेछ।’ कांग्रेसलाई ‘बुढाहरूको बुढो पार्टी’को संज्ञा दिँदा उनको चित्त दुख्छ। त्यही आरोप चिर्न पनि उनी यसपल्ट पुरानो पुस्तालाई सम्मान गरेर नयाँ पुस्तालाई अघि बढाउन चाहन्छन्। नयाँ पुस्ताका नेताहरूमा उनको रोजाइका एउटा नेता थापा नै हुन्।
पाल्पा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका लक्ष्मण भट्टराई पनि थापालाई महामन्त्रीका रुपमा हेर्न चाहन्छन्। आफूले मात्रै नभइ धेरैले थापालाई कांग्रेसको नेतृत्व तहमा पुगेको हेर्न चाहिरहेको दाबी उनको छ। उनले भने, ‘मलाई मात्रै होइन, थापाले कांग्रेस र भविष्यमा देशको नेतृत्व गर्दा मात्रै देश बन्छ भन्ने धेरैलाई लागेको छ।’

युवा भएकाले मात्रै होइन, शैक्षिक र राजनीतिक अजेन्डाका कारणले पनि थापाले जित्नैपर्ने उनी बताउँछन्। थप्छन्, ‘जो समाजप्रति बफादार देखिन्छ। समुन्नत नेपाल बनाउने अजेन्डा जोसँग छ। उसलाई हामीले जिताउनेछौं।’ देशमा आमूल परिवर्तन कसैले गर्छ भने कांग्रेसले गर्छ भन्ने विश्वास आमजनमा दिलाउन पनि थापा जस्तै नयाँ पुस्ताका नेताहरूको कांग्रेस नेतृत्वमा प्रवेश जरुरी रहेको उनी बताउँछन्।
राजनीतिक परिवर्तनमा समेत यो पुस्ताले योगदान गरेको बताउँदै देशको अवस्था परिवर्तनमा भूमिका खेल्न सक्ने उनको विश्वास छ। भन्छन्, ‘उनी महामन्त्री बन्नुपर्ने प्रशस्त कारण छन्। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै गर्दा जनतामै फर्काउने आन्दोलनमा उनको भूमिका छ। साढे ८ महिना स्वास्थ्यमन्त्री बन्दा गरेका कामले उनको सफलता देखाउँछ।’

गुटको घेरा तोड्ने विश्वास
बारा क्षेत्र नम्बर १, निजगढबाट प्रतिनिधि चयन भएका हुन् विष्णु खड्का। नेपाली कांग्रेसमा चलिरहेको गुटको गोलचक्करसँग खड्का भलिभाँती परिचित छन्। तर, यसपल्ट केन्द्रीय नेतृत्व चयन गर्दा गुटको घेराभन्दा माथि उठ्नुपर्ने राय छ उनको।
विगतमा राम्रा नेताहरू पनि गुटको गणनामा नपर्दा हारेको दृष्टान्त छन्। त्यसलाई पृष्ठभूमिमा लिँदै उनी भन्छन्, ‘यसपल्ट गुटभन्दा माथि उठेर नेतृत्व चयन गर्छौं। पार्टी नाजुक बनेको छ। गुटभन्दा माथि उठेर पार्टी जोगाउनुपर्छ। पार्टी जोगाउने नेतृत्वलाई मतदान गर्नुपर्छ।’
लामो इतिहास बोकेको कांग्रेसलाई २१औं शताब्दीको मर्मअनुसार नेतृत्व गर्ने नेता चुन्ने अपेक्षासहित आएको उनले बताए। नयाँ समयअनुसारको नेतृत्व गर्ने क्षमता भएको एउटा नेता उनले महामन्त्रीका उम्मेदवार थापा देखेका छन्।
नेपाल विद्यार्थी संघको सिटिइभिटीका उपाध्यक्ष लोकेन्द्र शाही गुटका हिसाबले सभापति शेरबहादुर देउवा निकट हुन्। सभापतिमा उनी देउवाको विकल्प देख्दैनन्। तर, महामन्त्रीमा गुटको घेरा तोडेर नयाँ पुस्ताका नेताहरूलाई जिताउनुपर्नेमा जोड दिन्छन्। उनलाई अहिलेको माहोल हेर्दा पनि नेतृत्वमा युवाको वर्चस्व रहने विश्वास छ। महामन्त्रीमा थापाका विषयमा उनी भन्छन्, ‘गुटको घेरा तोडेर जनताको आवाज बन्ने र जनताको पसिना पुछ्ने व्यक्तिलाई जिताउनुपर्छ।’

थापाको प्रतिबद्धता
कांग्रेसजनको अपेक्षा जस्तै थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरण’को प्रस्ताव अघि सारेका छन्। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अवधारणामा उनले आफूले बनाउन चाहेको कांग्रेस र देशको 'शब्दचित्र' प्रस्तुत गरेका छन्।
उक्त अवधारणा पत्र सार्वजनिक कार्यक्रममा थापाले आफू महामन्त्रीमा निर्वाचित भए गलत व्यक्तिलाई छानिएछ भनेर सोच्ने अवस्था आउन नदिने प्रतिबद्धतासमेत जनाए।
आफूले विद्यार्थी आन्दोलन, सांसद तथा मन्त्रीको रुपमा काम गर्दा कांग्रेसजन सदस्यको शीर निहुरिन नदिएको उल्लेख गरे। ‘यो केटो, साथी, भाइ, दाइ, छोरा कांग्रेस हो भन्दै गर्दा ‘यस्तो पनि कांग्रेस हुन्छ?’ भन्ने अवस्था मैले आउन दिएको छैन’, उनले भने, ‘भोलि महामन्त्री हुँदै गर्दा पनि, तपाईंले मलाई मत हाले पनि, नहाले पनि, म महामन्त्री भएर काम गर्दै गर्दा नेपाली कांग्रेसको महामन्त्री गलत व्यक्तिलाई छानिएछ भनेर एक क्षण पनि तपाईंले सोच्ने अवस्था आउने छैन।’
कांग्रेसको महामन्त्री भएर पार्टीको गौरवशाली परम्परालाई ठेस नपुर्याइकन अगाडि बढाउने उनले बताए। ‘थप समृद्ध बनाउनेछु भन्ने विश्वास लिएर शपथ खाएर तपाईंहरूको बीचमा उभिएको छु’, उनले भने, ‘बाँकी तपाईंहरूको हातमा छ। तपाईंहरूले जिम्मा दिँदै गर्दा त्यो विवेकको मतलाई एउटा मतमाथि पनि अन्याय हुन दिन्नँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।