काठमाडौं– नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औं राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ।
महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ। थप टोलीसमेत खटाइएको छ।
मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ। महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको उनले बताए। कार्यक्रमस्थलको प्रवेश विन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको उनको भनाइ छ।
ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ। प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुनेछ।
प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ। भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ। महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुनेछन्। पैदल, मोबाइल गस्ती नियमित रहनेछन् । आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको छ।
यस्तो छ ट्राफिक व्यवस्थापन
उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका लागि ट्रााफिक मात्रै ३५० बढी परिचालन गरिएको जानकारी दिए।
उपस्थिति र सवारीको चाप हेरेर आवश्यकतानुसार सवारी रुटको डाइभर्सन हुने उनले जानकारी दिए। यसपालि नेपाली कांग्रेसले महाधिवेशनमा प्रतिनिधि र स्वतःस्फूर्त आउने व्यक्तिहरु मात्रै उपस्थित हुने जनाइसकेको छ।
कार्यक्रमस्थलमा सवारी जाम नहोस् भनेर प्रहरीले पद्मोदय मोड, कमलादी मोड, सभागृहमोड, सिंहदरबार चोक र माइतीघरबाट ट्राफिक डाइभर्सन गरेको छ। त्यस कार्यका लागि १८ ट्राफिक प्रहरी खटाइएको छ।
महाशाखाका अनुसार झण्डावाला, पार्टी अध्यक्ष र विदेशी पर्यवेक्षकका सवारी साधनका लागि भृकुटीमण्डपको सभाहल पछाडि पार्किङको व्यवस्था मिलाइएको छ। अन्य भिआइपीका सवारी साधन राष्ट्रिय सभागृहमा राखिनेछन्। महाधिवेशन प्रतिनिधिका सवारी साधन खुलामञ्चमा र वैकल्पिक पार्किङका रूपमा विश्वभाषा क्याम्पसलगायत आसपासका खुला क्षेत्र तोकिएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।