काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्ने प्रयास जारी रहे पनि निष्कर्ष निस्कन सकेको छैन।
साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरु शुक्रबार बिहानैदेखि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरिरहेका छन्। तर, साझा उम्मेदवार चयन हुन सकिरहेको छैन।
यसअघि बुधबार र बिहीबार पनि इतर पक्षमा छलफल र वार्ता भएका थिए।
चार जना आकांक्षीलाई एक जनामा ल्याउने सन्दर्भमा सबै खालका विकल्पबारे छलफल भए पनि सफलता हात लागि नसकेको नेता बद्री पाण्डेले जानकारी दिए।
'चार जनामा एक जना बनाउने सन्दर्भमा सबै खालका विकल्प हामीले प्रस्तुत गर्यौं। तर, हामी असफल भएका छैनौं' पाण्डेले भने, 'अझै कुनै विकल्प निस्किन्छ कि? कुनै उपायहरु निस्कन्छ कि? भनेर छलफल गरिरहेका छौं।'
आफूहरुले टुंगोमा पुग्ने गरि सबै कसरत गरिरहेको उनले बताए।
आकांक्षीहरुलाई पनि चारबाट एक जना बनाउनुपर्छ भन्ने मनोवैज्ञानिक दबाब रहेको उनले बताए।
'चार जनामाथि पनि ठूलो मनोवैज्ञानिक दबाब छ। साथीहरुबाट पनि दबाब छ' उनले भने, 'एक जना बनाउने सम्बन्धमा सबैले त्याग गरौं, आत्मकेन्द्रीत सोच त्यागौं भन्ने सबैको चाहना छ।'
छलफल सकिएसँगै आकांक्षीहरुसँग एक्ला एक्लै र सामूहिक रुपमा भेट र छलफल गर्ने उनले बताए।
यसअघिका छलफलमा रामचन्द्र पौडेल र शशांक कोइरालाले लचकता देखाएपछि बाँकी दुई जना शेखर कोइराला र प्रकाशमान सिंहलाई मिल्न भनिएको भए पनि त्यसो हुन नसकेको हो।
'सबैभन्दा सिनिरयका बारेमा समेट्न सकिन्छ कि भन्ने थियो तर अहिले भएको छैन' उनले भने 'दुईबाट एक बनाउन सकियो भने पो हुन्छ त, तर दुई हुनु र चार हुन समाधान भएन' उनले भने।
पाण्डेले महाधिवेशनको उद्घाटन अघिनै एउटा निष्कर्षमा पुग्नुपर्छ भनेर आफूहरु लागिरहेको बताए। महाधिवेशनको उद्घाटन १ बजे भृकुटीमण्डपमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।