काठमाडौं– आजदेखि सुरु हुन लागेको नेपाली काग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन भारतीय सत्ता पक्ष र विपक्षका नेता काठमाडौं आइपुगेका छन्।
महाधिवेशनको अतिथि सत्कार व्यवस्थापन गर्दै आएका नेता प्रकाशशरण महतका अनुसार भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं सांसद हर्षवर्धन तथा अर्का सांसद हरिश द्विवेदी महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन काठमाडौं आइपुगेका छन्।
भारतको प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वस्निक काठमाडौं आइपुगेको उनले बताए। उनी सन् २००९ देखि २०१४ सम्म भारतको सामाजिक न्याय तथा शसक्तीकरण मन्त्री थिए। त्यस्तै महाधिवेशनमा भाग लिन बहुजन समाजवादी पार्टीका प्रवक्ता सुधीन्द्र भदौरिया पनि काठमाडौं आइपुगेका छन्।
भाजपाका हर्षवर्धन र द्विवेदी यसअघि चितवनमा सम्पन्न भएको नेकपा एमालेको १०औं महाधिवेशनमा पनि सहभागी भएका थिए।
शुभकामना सन्देश
अन्य देशका राष्ट्रप्रमुख र राजनीतिक दलहरुका नेताहरुलाई निम्तो गरिएको भए पनि अधिकांशले शुभकामना सन्देश पठाएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शुभकामना सन्देश पठाएकी छन्। सत्तारुढ अवामी लिगको अध्यक्ष रहेकी उनले बंगलवादेशको स्वतन्त्रतामा नेपालको सहयोग अविस्मरणीय भएको उल्लेख गरेकी छन्।
त्यस्तै अन्य देशका राष्ट्र प्रमुख र पार्टी प्रमुखहरुको पनि सन्देश प्राप्त भएको महतले बताए। काग्रेसले चिनियाँ कम्युनिष्ट पार्टीलाई पनि निम्ता पठाएको र उतावाट सन्देश प्राप्त भएको उनको भनाइ छ।
कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण धेरै विदेशीले सहभागी हुने भन्दा पनि सन्देश पठाउने कार्य गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।