फाइल तस्बिर काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लामो समयको अन्तरालमा एउटै मञ्चमा देखिने भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा तिनै जना नेता उपस्थित हुने भएका छन्।
कांग्रेस महाधिवेशन उद्घाटन दिउँसो १ बजे तय गरिएको छ। ओली सामान्य अस्वस्थ भए पनि कार्यक्रममा उपस्थित हुने बताएको महाधिवेशन आयोजक कमिटीका एक सदस्यले जानकारी दिए।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा चलेको विवादपछि ओली र प्रचण्ड एकसाथ देखिएका छैनन्। उनीहरु सँगै नदेखिएको एक वर्ष पुगेको छ।
नेकपा विघटनपछि सोही विवाद एमालेमा कायम रहँदा टाढा-टाढा हुँदै फरक पार्टी निर्माण गरेका माधव नेपालसँग समेत ओली पाँच महिनापछि एउटै मञ्च सेयर गर्नेछन्। नेपालको दल नै अवैधानिक रहेको भन्दै ओलीले एमालेको १० औं महाधिवेशन निम्तो नै दिएका थिएनन्।
प्रचण्डलाई निम्तो दिएपनि उनले आफू उपस्थित नभएर स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएका थिए। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हेलिकोप्टर लिएर आफैं एमालेको महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।