काठमाडौं- नेपाली कांग्रेसका दुवै समूहलाई पदाधिकारी व्यवस्थापन सकसपूर्ण बनिरहेको छ। संस्थापन पक्षका धेरै नेताहरुले महामन्त्री ताकेका छन् भने इतरका धेरै नेता सभापतिको दौडमा सक्रिय छन्।
वरियताका हिसावले सभापतिपछिको पद उपसभापतिमा भने नेताहरुले त्यति रुचि दिएका छैनन्। कांग्रेस महाधिवेशन सुरु भइसक्दा पनि उपसभापतिको दाबी प्रस्तुत गर्दै भोट माग्ने महेश आचार्य एकजना मात्रै देखिएका छन्।
कांग्रेसमा दुई उपसभापति रहने व्यवस्था छ। धेरै नेताहरुले उपसभापतिलाई आफ्नो वैकल्पिक व्यवस्थापनका रुपमा लिएकाले त्यसमा दाबी नगरेको कांग्रेसका एक नेता बताउँछन्। पदाधिकारीकै दाबेदार ती नेता भन्छन्, 'सुरुमा कार्यकारी पदमा दाबी गर्ने नपाए मात्रै उपसभापतितिर व्यवस्थापन हुने सोचाइमा धेरै नेताहरु हुनुहुन्छ। त्यसैले अहिले उपसभापति नै भनेर मैदानमा आउने कम देखिएको हो।'
उनका अनुसार दुवै पक्षले महामन्त्रीका उम्मेदवारको टुंगो लगाएपछि उपसभापति भिड्नेको पनि भीड नै हुन्छ। संस्थापन पक्ष र संस्थापनइतर पक्ष प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना भएकाले धेरै नेताहरु आन्तरिक परामर्शमै छन्।
सार्वजनिक रुपमा घोषणा नगरेपनि संस्थापन पक्षबाट उपसभापतिको आकांक्षा राख्नेमा विजय गच्छदार र पूर्णबहादुर खड्का छन्। खड्काले महामन्त्रीबाट माथि जाने ठाउँ त्यही भएकाले स्वभाविक दाबेदारी भनेर आन्तरिक रुपमा लबिङ गरेका छन्।
देउवाले उनीहरु दुवैलाई बचन दिइरहेका छैनन्। उनी उपसभापतिमा संस्थापन इतरको कसैलाई तान्ने र कृष्णप्रसाद सिटौलालाई मनाउनेतर्फ लागेका छन्।आफ्नो गुटलाई आफू नेतृत्वमा नरहँदा पनि प्रभावशाली बनाउन संस्थापनइतरको कुनै नेतालाई तान्ने रणनीति उनको छ। देउवानिकट स्रोतका अनुसार उनको पहिलो प्रयास वर्तमान महामन्त्री शशांक कोइरालालाई आफूतिर तान्ने रहेको छ।
संस्थापनइतरले सभापतिको साझा उम्मेदवार तय गर्न नसकेको र शशांकलाई प्राथमिकतामा नराखेको विषयबाट देउवानिकट नेताहरुले विषय प्रवेश गरेका छन्। तर, कोइराला संस्थापनइतरबाटै उपसभापति बनाइन सक्ने भएकाले त्यतिका लागि मात्रै कित्ता परिवर्तन गर्नसक्ने सम्भावना कम छ।
अहिले संस्थापन अर्थात् सभापति शेरबहादुर देउवाको पक्षका ६ जना प्रभावशाली नेता महामन्त्रीका उम्मेदवार छन्। उनीहरुमध्ये कसैलाई उपसभापति व्यवस्थापन गरेर मिलाउन पनि देउवाले आकांक्षीलाई वचन दिएका छन्।
संस्थापनइतरबाट महेश आचार्यबाहेक टिम मिल्दा बलबहादुर केसी र अर्जुननरसिंह केसीले पनि उपसभापतिमा रहने रुचि देखाएका छन्। उनीहरुले अहिले सभापतिको साझा उम्मेदवार बनाउन सक्रिय छन्।
किन अरुचि?
नेपाली कांग्रेसको दोस्रो पुस्ताका प्रभावशाली नेताहरुले आफूलाई भावी पार्टी सभापतिका रुपमा उभ्याउन चाहन्छन्। महामन्त्री बन्दा त्यसका लागि बाटो सहज हुन्छ। किनभने कांग्रेसमा सभापति, महामन्त्री र कोषाध्यक्ष मात्रै कार्यकारी पद हुन्। विधानमा यी तीन पदको काम, कर्तव्य र अधिकार तोकिएको छ।
उपसभापति र सह-महामन्त्री सहभागिताका लागि सिर्जना गरिएको देखिन्छ। उनीहरुले गर्ने काम विधानमा व्यवस्था गरिएको छैन। उपसभापति सभापतिको अनुपस्थिति वा अधिकार प्रत्यायोजन गर्दा सक्रिय हुन पाउनेछन्। यसकारण धेरै नेताहरुले सकेसम्म कार्यकारी पद हत्याउने रुचि देखाउँदा उपसभापतिमा अरुचि जस्तो देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।