काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उद्घाटन समारोहमा भाग लिन वरिष्ठ नेता रामचन्द्र पौडेल भृकुटीमण्डप पुगेका छन्। उनी दिउँसो २ बज्दै लाग्दा भृकुटीमण्डप पुगेका हुन्।
पौडेलले महाधिवेशनमा सहभागी नहुने तयारी गरेका थिए। नेताहरुका अनुसार उनले महाधिवशेनमा सहभागी नहुने जानकारीसहित विज्ञप्ति जारी गर्ने तयारी पनि गरेका थिए। तर पौडेल पक्षकै केही नेताहरुले अनुरोध गरेपछि उनी महाधिवेशनस्थल जान तयार भएका थिए।
आफ्नो समूहका नेताहरुबाट सभापतिमा एक मात्रै उम्मेदवार छान्न नसकेपछि पौडेल निराश भएका थिए। उनले आफैं सभापतिको उम्मेदवार बन्न चाहेका थिए। तर अन्य नेताले दाबी छाडेका थिएनन्। नेताहरुले आफू नै उम्मेदवार बन्ने दाबी गरेपछि उनले राजनीतिबाटै बाहिरिने चेतावनी पनि दिएका थिए।
दिउँसो १ बजे सुरु हुने भनिएको उद्घाटन कार्यक्रम अझै सुरु हुन सकेको छैन। पार्टीका उच्च तहका अन्य केही नेताहरु पनि मञ्चमा पुगिसकेका छन्। कांग्रेस नेताहरुका अतिरिक्त अन्य विभिन्न पार्टीका नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन्। केही भारतीय नेताहरु पनि आइपुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।