काठमाडौं– लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेसको समस्या समाधान नभए मधेस पुनः ज्वालामुखी जस्तै विस्फोट हुने चेतावनी दिएका छन्।
संविधानप्रति आफूहरुको असन्तुष्टि अझै रहेको ठाकुरको भनाइ थियो। संविधान जारी गर्ने बेलामा भएको आन्दोलनको क्रममा आफ्ना धेरै नेता तथा कार्यकर्ता जेल परेको भन्दै उनीहरु रिहा हुनुपर्ने उनले बताए। ‘संयुक्त मधेसी मोर्चाले त्यतिबेला पूरै मधेसमा आन्दोलन गर्यो। तर, हाम्रो सामना लाठी र बन्दुकले हुन थाल्यो। अहिले पनि हाम्रा नेता साथीहरु जेलमा छन्। तारिखमा छन्। हाम्रा सांसद् भारि मतले विजय भएका भए पनि जेलमा छन्’, उनले भने।
ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने धन्यवाद दिए। ‘म केपी ओलीलाई धन्यवाद दिन चाहन्छु। १३९ जना उहाँबाट मुक्त भएका छन्। अहिले पनि हाम्रो समस्याको सम्बोधन चाहन्छौं। समस्यालाई दबाएर समाधान हुँदैन। सम्बोधन नभए ज्वालामुखी जस्तै विस्फोट हुन्छ। हामी सडकमा उत्रिन बाध्य हुन्छौं’, उनले भने।
ठाकुरले पार्टी सिस्टममा पार्टीले सरकार बनाउने भएकाले पार्टीमा स्थिरता रहेन भने सरकार पनि अस्थिर हुने बताए।
‘सरकारमा स्थिरता नरहँदा सरकारका अंगहरु पनि प्रभावित भइरहन्छ। अहिले संसद्ले काम गरेको छैन। सर्वोच्चको पनि त्यही अवस्था छ। यसले गर्दा जनताको सेवा र न्यायमा असर परिरहेको छ। जुन अदालतले हामीलाई न्याय दिने हो, हाम्रो विवादको छिनोफानो गर्नुपर्ने हो। त्यो आफैं विवादमा फसेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।