काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबै जात–जाति तथा समुदायको मागलाई सम्बोधन गर्नेगरी संविधान संशोधन अविलम्ब गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले संविधान संशोधन गर्न ढिला भइसकेको बताए।
अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप समेत परिवर्तन गर्नुपर्ने यादवले बताए। लिखित सम्बोधन गरेको यादवले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुपबाट नेपालको समस्या समाधान नहुने बताए।
‘विगतका आन्दोलनहरुमा भएका सहमति, सम्झौता र प्रतिबद्धतताहरु पूरा गर्न अब ढिलो गर्नुहुँदैन,’ यादवले भने, ‘सबै समुदायको राष्ट्रिय पहिचानलाई राखेर मात्रै समृद्ध राष्ट्र बनाउन सक्छौ।’
संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप भएको भन्दै स्वच्छ, निष्पक्ष बनाउन सबै लाग्नु पर्ने यादवको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।