काठमाडौं– सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर जारी नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकबाट सभापतिका आकांक्षी डा शेखर कोइराला बाहिरिएका छन्।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकबाट शेखर बाहिरिएका हुन्। बैठकबाट बाहिरिने क्रममा डा कोइरालाले छलफल जारी रहेको र आफू फेरि उपस्थित हुने जानकारी दिए।
'अहिले कुरा भइरहेको छ। म फेरि उपस्थित हुन्छु,' शेखरले भने।
कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आकांक्षी छन्।
संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा नै उम्मेदवार हुने पक्का छ। शुक्रबार महाधिवेशनको उद्घाटन सभामा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका छन्।
संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन। शुक्रबार महाधिवेशनको उद्घाटन सभा सकिएपछि इतर पक्षका नेताहरु पुन: छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।