काठमाडौं- सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर जारी नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकबाट वरिष्ठ नेता एवं सभापतिका आकांक्षी रामचन्द्र पौडेल बाहिरिएका छन्।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकबाट बाहिरिएका पौडेलले आफू खाना खान जानलागेको प्रतिक्रिया पत्रकारहरुलाई दिए। त्यसक्रममा उनले अहिलेसम्म साझा उम्मेदवारमा कुनै सहमति जुटिनसकेको बताएका छन्।
कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आकांक्षी छन्।
पौडेल लगत्तै डा शशांक पनि बाहिरिएका छन्। तर, उनले कुनै प्रतिक्रिया दिएनन्।यसअघि डा शेखर पनि बाहिरिएर फेरि बैठकमा आएका थिए।
संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा नै उम्मेदवार हुने पक्का छ। शुक्रबार महाधिवेशनको उद्घाटन सभामा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका छन्।
संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन। शुक्रबार महाधिवेशनको उद्घाटन सभा सकिएपछि इतर पक्षका नेताहरु पुनस् छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।