काठमाडौं- सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर बसेको नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठकबाट नेता एवं सभापतिका आकांक्षी प्रकाशमान सिंह पनि बाहिरिएका छन्।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी बैठकबाट बाहिरिएका सिंहले सहमति जुट्न नसकेको बताए।
उनीभन्दा पहिले सभापतिका आकांक्षीहरु, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइराला बाहिरिएका थिए। सभापतिका अर्का आकांक्षी डा शेखर कोइराला भने बैठकस्थलमै छन्। त्यहाँ संस्थापन इतरका अरु केन्द्रीय सदस्यहरु पनि छन्।
कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि पौडेल, डा शशांक, सिंह र डा शेखर आकांक्षी छन्।
संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा नै उम्मेदवार हुने निश्चित छ। शुक्रबार महाधिवेशनको उद्घाटन सभामा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका छन्।
संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन।
बैठकमा सहभागी एक नेताले साझा उम्मेदवार तय गर्न भोलि बिहान सिंहलाई मनाउन अन्तिम प्रयास गर्ने नभए आफ्नै हिसाबले अगाडि बढिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।