काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका आकांक्षी डा शेखर कोइरालाले साझा उम्मेदवारबारे छलफल सकारात्मक भएको बताएका छन्।
शुक्रबार राति काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकबाट बाहिरिनेक्रममा प्रतिक्रिया दिँदै उनले छलफलको रिजेल्ट बिहानसम्म आउने बताए।
'सभापति, पदाधिकारी र अन्य धेरै पदमा मिलाउनुपर्ने भएकाले समय लागेको हो,' उनले भने,'साझा उम्मेदवार बनाएरै जान्छौं भन्ने लाग्छ। हामी त्यो दिशामा उन्मुख छौं।'
कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला आकांक्षी छन्।
संस्थापन पक्षबाट सभापतिमा फेरि शेरबहादुर देउवा नै उम्मेदवार हुने निश्चित छ। शुक्रबार महाधिवेशनको उद्घाटन सभामा नै देउवाले आफूलाई फेरि एकपटक सभापति जिताउन महाधिवेशन प्रतिनिधिमाझ अपिल गरेका छन्।
संस्थापन इतर पक्षका नेताहरु सभापतिमा साझा उम्मेदवार अगाडि सार्ने भनेर सोमबारदेखि नै छलफलमा रहे पनि सहमति जुट्न सकेको छैन। सभापतिका आकांक्षीमध्ये डा शशांकले आफू सभापतिको दौडबाट बाहिरिइसकेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।