फाइल तस्बिर काठमाडौं- १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त उमेर समूहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरिएको हो।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए। ‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। त्यसका लागि केही मापदण्डमा रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन्,’ उनले भने।
हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकी जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको दाहालले जानकारी दिए।
उनका अनुसार यसअघि फाइजर खोप वितरण गरिएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने बताए।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ। सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।
नेपालमा शुक्रबारसम्म ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। भोलि आइतबार थप १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने विभागको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले यसअघि २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ। सरकारले तीन महिना पूरा भएका गर्भवतीहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन अनुरोध गरेको छ।
नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ।
बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५.७ प्रतिशतले पहिलो र २९.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।