काठमाडौं- कोभ्याक्स सुविधामार्फत् नेपालमा थप छ लाख २० हजार डोज फाइजर खोप आउने भएको छ। आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्ने भएको हो।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार कोभ्याक्समार्फत् दोस्रो चरणमा उक्त खोप आउन लागेको हो। यसअघि कात्तिक ८ गते एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिइएको थियो। अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने बताइएको छ।
साथै, भोलि (सोमबार) कोभ्याक्समार्फत् १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका अनुसार पुस ४ गते देखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरेको छ।
ती जिल्लाका करिब १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ। त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।