काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा अघिल्ला सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिएको छ। शुक्रबार राति बसेको महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा ओलीले स्वेच्छाचारी शासनलाई सुदृढ बनाउने अहंकार देखाउँदा सत्ताबाट बाहिरिनुपरेको उल्लेख छ।
‘सत्ताको उन्माद र अहंकार तथा सरकारमा सहभागी सहकर्मी दलहरु तथा आफ्नै पार्टीभित्रको आपसी असमझदारीलाई अन्त्य गरी सबै पक्षलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको सट्टा, फरक विचार राख्ने पार्टीभित्रका सहकर्मी नेताहरु तथा सहकर्मी दलहरुलाई किनारा लगाउने र आफ्नो स्वेच्छाचारितालाई थप सुदृढ बनाउने अहंकारका कारण केपी शर्मा ओली नेतृत्वको सरकार केन्द्र र प्रदेशहरुमा सत्ताबाट विस्थापित हुन पुग्यो,’ प्रतिवेदनमा भनिएको छ।
दुईतिहाइ मतका साथ देशका तीनवटै तहका सरकार सञ्चालनको नेतृत्वमा आइपुगेको ओली नेतृत्वको नेकपा सरकारले सत्तामा आउनासाथ मुलुकको संविधान र लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भहरुलाई एकपछि अर्को गर्दै क्रमशः कमजोर बनाउँदै लैजाने र सात दशक लामो अनवरत संघर्ष र बलिदानस्वरुप नेपाली जनताका प्रतिनिधिबाट निर्मित नेपालको संविधानलाई नै असफल बनाउने प्रयास गरेको आरोप लगाइएको छ।


‘मुलुकमा नाम मात्रको बहुदलीय, तर निरंकुश र केन्द्रीकृत एकदलीय कम्युनिस्ट शासन लाद्ने कुत्सित नियतका साथ योजनाबद्ध तरिकाले गरिएको एकपछि अर्को अलोकतान्त्रिक कदमका विरुद्ध मुलुकका लोकतान्त्रिक शक्तिहरु सजग र सतर्क रहँदै संघर्षको मैदानमा उत्रिनुपर्ने परिस्थिति समेत निर्माण भयो,’ प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएपछि, मुलुकको एकमात्र लोकतान्त्रिक र ऐतिहासिक पार्टी नेपाली कांग्रेसले मुलुकमा बढ्दै गएको सर्वसत्तावादका विरुद्ध नेतृत्व लिँदै, सबै लोकतान्त्रिक, प्रगतिशील शक्तिहरुका बीचमा एकता र सहकार्य गरी केपी शर्मा ओली नेतृत्वको सरकारका ज्यादतीविरुद्ध उभिनुपर्ने परिस्थितिको निर्माण भयो।'
प्रतिवदेनमा ओली नेतृत्वको पार्टीले सम्मानित सर्वोच्च अदालतलाई समेत अनेक विवादमा तानेर न्यायालयको गरिमा र जनविश्वाससमेत कमजोर बनाउने कार्य गरेको उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।