काठमाडौं– शुक्रबार राति पार्टी सभापति शेरबहादुर देउवा र तेस्रो धार भनिएका कृष्णप्रसाद सिटौलका बीचमा सहमति भयो। सहमतिसँगै सिटौलाले आफ्नो कोटाबाट महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीको नाम अघि सारे अनि देउवाले स्वीकार पनि गरे। तर, यही निर्णयले अहिले देउवा गुटभित्र असन्तुष्टि चुलिएको छ। विद्यार्थी राजनीतिबाट उदाएका पौडेल र चौधरीलाई पदाधिकारीमा पठाई देउवालाई सहयोग गर्ने सहमति गरेका सिटौलाले अघि सारेका महामन्त्रीका कारण देउवा पक्षमा असन्तुष्टि बढाएको हो।
आफूभन्दा जुनियर रहेको र वर्षौसम्म देउवाको विपक्षमा काम गर्दै आएको आफूभन्दा कनिष्ट व्यक्तिलाई महामन्त्री दिन लागेको भन्दै देउवापक्षका आकांक्षीहरूले असन्तुष्टि पोखेका छन्।
दुई जनाबीच भएको सहमति आफूहरूलाई मान्य नभएको भन्दै देउवालाई उनको गुटबाट महामन्त्रीको आकांक्षी रहँदै आएकाहरूले सुनाएका छन्। दुई महामन्त्रीमध्ये एउटा सिटौला पक्षलाई दिने भएपछि आकांक्षीहरूले असन्तुष्टि पोखेका हुन्। देउवा गुटभित्र हाल महामन्त्रीका ६ जना आकांक्षी छन्। महामन्त्री कांग्रेसको आगामी नेतृत्वको प्रत्यासी रहने कार्यकारी पद भएकाले अधिकांश नेताहरूले आकांक्षा राखेका हुन्।
उनीहरूले पौडेललाई महामन्त्री बनाउने अवस्था आएमा अफूहरूले उक्त गुट छोड्ने धम्कीसमेत देउवा समक्ष पठाएका छन्। जम्मा दुई जना निर्वाचित हुने महामन्त्री पदमा संस्थापन पक्षबाटै तेब्बर आकांक्षी यसअघि नै देखिएका थिए। संस्थापन पक्षबाट वर्तमान सह–महामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीको दाबी नछाड्ने बताउँदै आएका छन्।
त्यस्तै एनपि साउदले पनि आफूलाई महामन्त्रीको दावेदारको रुपमा अघि सार्दै आएका छन्। संस्थापनबाट नयाँ पुस्ताका नेता तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केही महिनाअघि नै नीतिसहित नेतृत्वको दाबेदारी पेश गरिसकेका छन्।
सभापति देउवालाई सधैं सहयोग गरेका अन्य दुई नेता एनपी साउद र रमेश लेखक कुनै पनि अवस्थामा महामन्त्रीको दाबेदारी नछोड्ने बताउँदै आएका छन्।
देउवा उनीहरूलाई पेलेर मनखुशी उम्मेदवार तोक्ने अवस्थामा समेत नभएकाले उनी अप्ठारोमा परेका छन्। दोस्रो कार्यकाल सभापतिको दाबी गरिरहेका उनले सबैलाई मिलाएर लैजान सक्दा मात्रै जित निकाल्ने सम्भावना देखेकाले त्यसलाई मिलाउन आन्तरिक छलफलसमेत थालेका छन्।
सभापतिले वरिष्ठताका आधारमा न्याय गर्नुपर्ने देउवापक्षका नेताहरुको तर्क छ। महामन्त्रीका आकांक्षी रमेश लेखकले आफूहरूको दावी स्वभाविक भएको बताए। लामो समयदेखि पार्टीमा योगदान दिएका साथीहरूले दाबी गर्ने कुरा स्वाभाविक भएको भन्दै उनले यसलाई मिलाएर लाने कुरा सभापतिको हातमा रहेको बताए। अझै समय बाँकी रहेकाले मिल्ने उनले दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।