काठमाडौं- २०७४ सालमा सम्पन्न चुनावमा पराजय भएको ‘आलो घाउ’ कांग्रेसमा कायमै थियो। अन्यौलकै अवस्थामा कांग्रेसका सात युवा नेताले २०७४ पुस १५ गते एउटा संयुक्त विज्ञप्ति जारी गरे।
पार्टी पराजयको ‘निर्मम समीक्षा’ सुरु गर्न माग गरिएको सो विज्ञप्तिमा युवापुस्ताका नेताहरु विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, र बद्री पाण्डे थिए। ती नेताहरुलाई कांग्रेस सुधारका लागि सामूहिक प्रयत्न गरेका ‘सप्तर्षि’का नामले चिनिन्छ।
विज्ञप्तिमार्फत युवा नेताहरुले भनेका थिए- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउनेछौं।‘
त्यसरी विज्ञप्ति जारी गरेको चार वर्षपछि कांग्रेस महाधिवेशनको उत्सवमा छ। र, कांग्रेस सुधारको माग गर्दै आएका शेखर कोइरालाले तिनै ‘सप्तर्षी’ समूहका चार नेतालाई पदाधिकारीमा राखेर प्यानल घोषणा गरेका छन्।
शेखरको प्यानलमा अटाएका ‘सप्तर्षि’ समूहका नेताहरु हुन्- चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा र बद्री पाण्डे। भण्डारी र गुरुङ उपसभापति, थापा महामन्त्री र पाण्डे सहमहामन्त्रीका उम्मेदवार हुन्।
त्यसो त कांग्रेस सुधारको अभिप्राय राखेर त्यसपछि पनि सामूहिक विज्ञप्ति र प्रतिवेदन पेश भएका थिए। त्यसमा अन्य नेताहरु पनि जोडिएका थिए। २०७५ असार ६ गते जिल्ला सभापतिको भेला लक्षित अपिलमा जोडिएका जीवन परियार, रामकृष्ण यादव पनि शेखर कोइरालाको सहमहामन्त्रीको उम्मेदवार हुन्। त्यस्तै, २०७५ मंसिर २९ को महासमिति बैठकमा जारी अपिलमा जोडिएकी कमला पन्त पनि सहमहामन्त्रीको उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।