काठमाडौं- चौधौं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग्गिएका रामचन्द्र पौडेलको स्थान गणेशमान सिंहको जस्तै भएको गगन थापाले बताएका छन्।
शनिबार महामन्त्रीमा उम्मेदवारी घोषणा गरेपछि थापाले भने- ‘नेपाली कांग्रेसले जसरी गणेशमानलाई सम्झियो। उहाँ पार्टीको सभापति त कहिल्यै हुनुहुन्न थियो नि। तर गणेशमानको लागि हामीमा विशिष्ट स्थान छ नि। रामचन्द्र पौडेलले त्यस्तो स्थान सिर्जना गरिसक्नुभयो।‘
थापाले नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेल एउटा प्रवृत्तिको प्रतीक भएको बताए। कतिपय सन्दर्भमा उहाँ असफल भए पनि, कतिपय सन्दर्भमा उनलाई आफूहरुको साथ नरहेको भए पनि उनको स्थान गणेशमानको झै रहेको बताए।
रामचन्द्र पौडेल सभापति हुने वा नहुने, प्रतिस्पर्धा गर्ने वा नगर्ने कुरा उनको राजनीतिक जीवनमा गौण भइसकेको थापाको भनाइ छ।
‘सिंगो नेपाली कांग्रेसमा एउटा इतिहासको पानामा उहाँको नाम लेखिइसकियो कि उहाँले सक्रिय हुन्न भने पनि, प्रतिस्पर्धा गर्दिनँ भने पनि रामचन्द्र पौडेलको एउटा भ्यालु भइसक्यो। त्यो कसैले मेट्न सक्दैन’, उनले भने।
सभापतिको प्रतिस्पर्धी बन्ने आकांक्षा राखेको भए पनि आफ्नो समूहबाट एकल उम्मेदवार बन्न नसक्ने अवस्था आएपछि पौडेल प्रतिस्पर्धाको होडबाट बाहरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।