काठमाडौं- तेस्रो धार भनेर चिनिने एउटा समूहको नेतृत्व गर्दै आएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चौधौं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएनन्।
शनिबार मनोनयनको लागि तोकिएको समयमा उनले कुनै पनि पदमा उम्मेदवार नदिएका हुन्। उनले महिनौं अघिदेखि सभापतिमा उठ्ने बताउँदै आएका थिए।
मनोनयनको क्रममा सिटौलाले शेरबहादुर देउवा समूहसँग गठबन्धन गरेका छन्। उनको समूहमा रहेका प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका छन्। त्यस्तै, उमाकान्त चौधरी सहमहामन्त्रीका उम्मेदवार भएका छन्।
सिटौलाले देउवासँगको गठबन्धनमा उपसभापति बन्ने चर्चा पनि थियो। तर उनले आफूलाई प्रतिस्पर्धाभन्दा बाहिर राखेका हुन्। उनले पदभन्दा बाहिर रहेर पनि कांग्रेसको राजनीति गर्न सकिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।