नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी रोचक बनिरहँदा धेरैको नजर छ गगन थापामाथि। पछिल्लो पुस्तामा आशा जगाएका यी नेताले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। कांग्रेसको नेतृत्व तहमा सभापति पछिको महत्वपूर्ण मानिने महामन्त्री पदमा उनले जित्न सक्लान् या नसक्लान् भन्ने फरक कुरा हो। तर, उम्मेदवारी घोषणा गर्दा नै उनले कांग्रेस पंक्तिभित्र मात्र होइन, कांग्रेसबाहिर समेत बेग्लै तरंग ल्याइदिएका छन्। त्यो तरंग ल्याउनुको कारण छ।
गगन थापाको बारेमा लेख्न बस्दा आफ्नै केही कुरा राख्न चाहन्छु। म न कुनै विद्वान हो, न त कुनै समालोचक। नेपाली कांग्रेसले अंगाल्ने राजनीतिक दर्शनप्रति चासो राख्छु। मेरो जन्मथलो कास्कीको निर्मलपोखरी, जसको छिमेकी गाविस स्व रवीन्द्र अधिकारी दाइको क्षेत्र हो। आज गगन थापाबारे लेखिरहँदा म रवीन्द्र दाइलाई सम्झिरहेको छु। उहाँ भन्नुहुन्थ्यो, 'विचार फरक भए पनि हामी दाजुभाइ हो। तिम्रो गगनसँग राम्रो सम्बन्ध छ, यसलाई सधैँ कायम राख है।'
सुरेश गिरीएमालेका उदीयमान नेता रवीन्द्र दाइले यसो भन्दा मलाई सुरुमा अचम्म लाग्थ्यो। मैले यो कुरा पहिलो संविधान सभा निर्वाचनपछि राम्ररी बुझ्ने मौका पाएँ। त्यसबेला चुनावी प्रचारप्रसारको कार्यक्रममा म गगन दाइसँगै स्याङ्जाको मिर्मीमा कार्यक्रम सकेर फर्कदै थिएँ। उहाँले गगन फर्केपछि मलाई भेट्न भन है भन्नुभो। हामीले भोलिपल्ट बिहान ब्रेकफास्टमा भेट्ने फाइनल गर्यौं। मलाई अर्को अनौठो यो लाग्यो कि गगन दाइले रवीन्द्र दाइलाई निकै आदरसाथ सम्बोधन गर्नुहुँदोरहेछ।
त्यसबेला गगन दाइले रवीन्द्र दाइलाई सोधेको पहिलो प्रश्न थियो, 'रवीन्द्र दाइ, यो संविधानसभामा हामी युवाहरुको प्रतिनिधित्व कति हुन्छ जस्तो लाग्छ? संविधानसभा हामीले हाम्रा सपना पूरा गर्ने र भविष्य निर्धारण गर्ने ठाउँ भएकाले त्यहाँ युवाको अधिकतम प्रतिनिधित्व हुनुपर्छ।
रवीन्द्र दाइले त्यसक्रममा अझ खुलस्त भएर पार्टी भित्रकै केही व्यक्ति आफूलाई हराउन लागिपरेको भन्दै कांग्रेसले सहयोग गर्नुपर्ने बताउनुभएको थियो। उहाँहरू दुवैजना एउटा कुरामा प्रस्ट हुनुहुन्थ्यो, देशको बागडोर अब युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ, कसैलाई बारम्बार गल्ती गर्ने छुट दिनु हुँदैन। संविधान सभा निर्वाचनपछि सबै युवा सांसदलाई एक ठाउँ उभ्याउने प्रयास गर्नुभएका गगन दाइले पहिलो संविधान सभा असफल हुँदा आफ्नो पुस्ता नै असफल भएको पनि सार्वजनिक रुपमै स्वीकार गर्नुभएको थियो।
काम विशेषले मेरो जापान जाने–आउने क्रम चलिरहेको थियो। त्यही क्रममा मैले जापानका केही राजनीतिक दलका नेताहरुलाई प्याकेज बनाएर नेपाल घुमाउने मौका पाएँ। नेपाल भ्रमणमा उनीहरूले माधवकुमार नेपाल, ईश्वर पोखरेल तथा नेपाली कांग्रेसका केही नेता पनि भेटे। यही मौकामा उनीहरु फर्कनुअघि मैले गगन थापासँग डिनर बैठकको प्रस्ताव राखेँ। उनीहरु राजी भए।
जापनीहरुको डिनरमा को कहाँ बस्ने, कसले कसरी कुरा सुरु गर्ने पहिल्यै तय भइसकेको हुन्छ। परिचयपछि उनीहरूले नेपाल घुम्न आएका र असाध्यै राम्रो लागेका कुरा गरे। उनीहरुमध्येका एकजनाले सोधे– जापानले नेपाललाई के गर्दा ठिक हुन्छ? मलाई लागेको थियो, गगन दाइले विकास निर्माणमा सहयोगका कुरा गर्नुहोला। तर, त्यस्तो भएन। उहाँले जाइकामार्फत् नेपाललाई पैसा मात्र होइन, म्यानमारमा जस्तो प्राविधिक शिक्षामा सहयोग गर्न आग्रह गर्नुभो। जापानको चीनसँगको सम्बन्ध सधैँ तल माथि भइरहने, जापनीहरुले खाने उदो न (फापरको नुडल्स) अधिकांश चीनबाटै निर्यात हुने हुँदा नेपालमा यसको व्यावसायिक खेती गरेर जापानले किनिदिने ग्यारेन्टी गरिदिन अनुरोध गर्नुभो। मैले यो प्रसंग उल्लेख गर्नुको कारण यो हो कि गगन दाइ हरेक कुरा तयारीका साथ राख्ने नेता हो।
गगन थापाले तरकारी खेती र बाख्रा पालन गर्ने कुराको निकै चर्चा भयो। मिडियाले पनि राम्रो कभरेज गरे। मेरो विचारमा गगन दाइ बाख्रा पाल्ने मनस्थितिमा हुनुहुन्थ्यो जस्तो लाग्दैन। हो, उहाँ कृषिप्रधान देश भने पनि कृषिमा कुनै परिवर्तन गर्न नसकेको, युवापंक्ति कामको खोजीमा विदेशिएको र त्यसलाई रोक्नुपर्ने कुरामा प्रष्ट हुनुहुन्थ्यो। दुई तिहाइभन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको मुलुकको हालत देखेर खिन्न हुने युवापंक्तिमा उहाँ पनि हुनुहुन्थ्यो। त्यही भएर पनि सुतिरहेको कृषिलाई आधुनिकीकरण र व्यावसायिकीकरण गर्न सकिन्छ भनेर उहाँले यसमा हात हालेको हुनुपर्छ। जसमा मुख्यतः साथीभाइको योजनाले नै काम गरेको थियो।
त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा भएको युवा संघको कार्यक्रममा यो कुराले ठूलै चर्चा पाएको थियो। गगनमाथि बाख्रापालनका नाममा करोडौं अनुदान रकम कुम्ल्याएको आरोप पनि लाग्यो। जसको तथ्य बाहिर आइसकेको छ। मलाई लाग्छ, गगन थापाले तरकारी खेती र बाख्रा पालनमार्फत् नेपाली युवालाई देशमै केही गर्न सकिने सन्देश दिनुभएको हो। त्यो बेलामा धेरै युवाले बाख्रा, माछापालन र तरकारी खेतीको सुरुआत पनि गरे। हो, गगन थापाको बाख्रापालन र तरकारी खेती सफल भएन, तर उहाँले एउटा पंक्तिलाई आत्मनिर्भर कृषिको बाटोमा तान्नुभो। यसले थोरै भएपनि विदेशिने युवाको संख्या कम गरेको छ।
गगन थापा स्वास्थ्यमन्त्री रहेका बेला स्वास्थ्य बीमा कार्यक्रम लागू भयो। पहिलोपटक मन्त्री बन्दा कति कुरा बुझ्न त समय नै लाग्यो। तर, स्वास्थ्य मन्त्रालयलाई व्यवस्थित गर्न उहाँले जुन कार्ययोजना बनाउनुभो, त्यो आफैंमा एउटा उदाहरण थियो। स्वास्थ्य मन्त्रालयको नेतृत्वमा पुगेर अहिलेसम्म कम विवादित बनेको मन्त्री सम्भवतः उहाँ नै हुनुहुन्छ। उहाँसँग जोडिएका स्वार्थ समूहहरु पनि स्वास्थ्यमन्त्री बनेपछि नै टाढिएका थिए।
हरेक कुरा तथ्याङ्कसहित प्रस्ट राख्न सक्ने गगन दाइको विशेषता हो। अनि सँधै आफूमा होइन, टिममा विश्वास गर्ने उहाँको स्वभाव राजनीतिमा अरुभन्दा भिन्न छ। कांग्रेस पंक्तिले नेतृत्व तहमा पुर्यायो भने उहाँको यही स्वभाव पार्टी रुपान्तरणको पूँजी बन्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।