काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्। नत्र सरकार नटिक्ने उनको भनाइ छ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।
प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए।
उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नैपर्ने दबाव रहेको बताए।
प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताए।
‘तपाईंहरूले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो। अहिले कति हलुका भएको छ। त्यसैले अहिलेको बेला यो कांग्रेस पार्टी जित्नु जरुरी छ। कांग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ। त्यसका लागि यो महाधिवेशन अत्यधिक महत्त्वपूर्ण छ’, उनले भने, ‘यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईंहरूलाई थाहा नै छ। अत्याधिक बहुमतले मलाई जिताउनु भयो भने अवश्य नै म सम्पूर्ण मागहरू पूरा गर्नेछु। अर्को कुरा म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ। राष्ट्रिय चुनावसम्मका लागि। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ।’
उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाए। प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।