काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका शेखर कोइरालाले आफ्नो सात संकल्प सार्वजनिक गरेका छन्।
शेखरले ‘एक व्यक्ति एक जिम्मेवारी: एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराका साथ आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।
यस्ता छन्, कोइरालाका मुख्य सात संकल्प :
संविधान कार्यान्वयनको प्रतिबद्धता
वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन
अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण
पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी
सहभागितामूलक लोकतान्त्रिक अभ्यास
प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन
यसका अतिरिक्त विभिन्न क्षेत्रलक्षित उनले संकल्पहरू सार्वजनिक गरेका छन्। ‘संसद्को गरिमा र भूमिका कमजोर भएर नेपालको लोकतन्त्र कमजोर र प्रभावहीन भएको देखिन्छ, संसद्लाई जनताको आवाज उठाउने थलो बनाउने र सत्तापक्षलाई पारदर्शी शासनको लागि घच्घच्याउनु साथै नागरिकप्रति संसद्लाई उत्तरदायी बनाउनेतर्फ सशक्त भूमिका कांग्रेस पार्टीमार्फत अगाडि सारिने छ’, प्रतिज्ञा पत्रमा भनिएको छ।
उनले पार्टीको सबै विभागहरुको गठन ६ महिनाभित्र गरिने र यसरी गठन गरिने विभागहरुमा व्यक्तिको क्षमता, अनुभव र ऊर्जा हेरेर गरिने पनि बताएका छन्।
त्यस्तै, कांग्रेस पार्टीभित्र धनबली, बाहुबली र चाकडी, चाप्लुसीको आधारमा अवसर पाउने परम्परालाई बन्द गरिने पनि कोइरालाको प्रतिज्ञा पत्रमा उल्लेख छ।
शनिबार मात्रै कोइरालाले युवा नेताहरुलाई पदाधिकारीमा राखेर आफ्नो प्यानलको मनोनयन दर्ता गराएका थिए। उनको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ छन्। त्यस्तै, महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।