काठमाडौं– नेपाली कांग्रेसको जारी महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्यले महाधिवेशन प्रतिनिधिको विवेकले उचित निर्णय गर्ने अपेक्षा गरेका छन्। आचार्यले जारी गरेको अपिलमा सोधिएको छ- मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने?
‘मेरो उम्मेदवारीको उद्देश्य पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँ जीवन प्रदान गर्नु हो। गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि हो। निष्ठाको राजनीति गर्ने साथीहरुको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नको लागि हो’, उनले भनेका छन्।
आचार्यले देश यतिबेला गम्भीर संकटमा रहेको बताएका छन्। ‘लोकतन्त्रका स्तम्भ- सरकार, संसद् र न्यायक्षेत्र प्रभावहीन र अस्तव्यस्त छन्। कोरोना महामारी र जलवायु संकटको दोहोरो मारबाट जनताको जीवन, रोजगारी र समग्र अर्थ व्यवस्था धरापमा परेको छ’, आचार्यले भनेका छन्। दुवै छिमेकी देशका बीच बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय तनावको भुँवरीमा देश फस्दै गएको आचार्यको भनाइ छ।
‘राष्ट्रिय संकटको यस्तो घडीमा हाम्रो पार्टी विचार शून्य भयो, नीतिगत बहस र अग्रसरतामा चुक्यो भने राष्ट्रको अस्मितामा पर्न सक्छ’, उनले भनेका छन्, ‘मेरो उम्मेदवारी यो संकटबाट पार्टी र देशलाई जोगाउने वैचारिक अभियानमा केन्द्रित छ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।