काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जारी महाधिवेशनबाट पार्टी सभापतिमा पराजित भए आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनुनपर्ने बताएका छन्। पुनः सभापति बन्नको लागि उम्मेदवारी दिएका उनले आफू हार्यो भने प्रधानमन्त्री हार्यो भनेर चर्चा गरिने बताए।
आइतबार बिहान एउटा कार्यक्रममा उनले आफूले चुनाव हारेमा प्रधानमन्त्रीबाट हटाउन सक्ने भएकाले आफूलाई जिताउन अनुरोध गरेका थिए। आइतबार दिउँसो काठमाडौंको लैनचौरमा आयोजित अर्को कार्यक्रममा उनले त्यसको प्रष्टीकरण दिएका हुन्।
‘अहिले सभापति पनि छु। प्रधानमन्त्री पनि छु। पार्टी सभापति नै प्रधानमन्त्री भएको हुनाले मैले चुनाव हारेँ भने प्रधानमन्त्री नै हार्यो भन्छन्। सभापति हार्यो भन्दैनन्। नैतिकताको प्रश्न उठाउँछन् भनेको हो। नैतिकताको आधारमा प्रधानमन्त्रीबाट हट्नुस् भन्न पनि सक्छन् भनेको हो’, उनले भने, ‘मैले सभापतिमा हारे पनि प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने बाध्यता छैन।’
सभापतिमा हारे पनि प्रधानमन्त्री हार्यो भन्छन्, त्यसैले पनि आफूले जित्नु आवश्यक रहेको उनले दोहोर्याए। यसको व्याख्या अरु नलगाउन उनले अनुरोध गरे।
चुनावमा गठबन्धन गरेका कृष्णप्रसाद सिटौलालाई उनले धन्यवाद दिए। ‘सिटौलाले ठूलो हृदय राखेर मलाई सहयोग गर्नुभयो। त्यसका लागि उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।