काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुन भारतस्थित नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिहरुको सहभागितालाई लिएर बबण्डर निम्तिएको छ।
भारतबाट निर्वाचित भएर महाधिवेशनमा सहभागी हुन आइपुगेका दुई जना प्रतिनिधिहरुले आफ्नो नाम काटेर दुई जना अरु नै व्यक्तिको नाम प्रतिनिधिको सूचीमा चढाइएको आरोप लगाएका छन्। उनीहरुले आफूहरुलाई महाधिवेशनमा मतदान गर्ने अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै त्यसमा संलग्न व्यक्तिमाथि कारबाहीको मागसमेत गरेका छन्।
नेपाली जनसम्पर्क समितिअन्तर्गत् भारतको तेलंगना हैदरावाद क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि जनकबहादुर बोगटी र चण्डीगढ क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधि कुशानन्द न्यौपानेले कीर्ते गरेर आफ्नो नाम काटिएको भन्दै आइतबार विज्ञप्तिमार्फत् नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र १४औं महाधिवेशन निर्वाचन समितिको ध्यानाकर्षण गराएका छन्। उनीहरुले नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले कीर्ते गरेर आफ्नो नाम काटी अर्कैको राखेको आरोप लगाएका छन्।
‘पाण्डेले तेलंगना हैदरावाद क्षेत्रबाट निर्वाचित प्रतिनिधि जनकबहादुर बोगटीको नाम काटेर उमाकान्त (कान्ति) धमला र चण्डीगढ क्षेत्रबाट निर्वाचित कुशानन्द न्यौपानेको नाम काटेर प्रेमबहादुर सन्तोषीको नाम निर्वाचन समितिमा बुझाएर उनीहरुलाई नै प्रतिनिधिका रुपमा पेस गरे,’ बोगटी र न्यौपानेले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘महाधिवेशनमा सहभागी हुन भारतबाट काठमाडौं आइसकेपछि हामीले पाण्डेको कीर्ते थाहा पायौं। कीर्ते गरेर नाम राखिएकाले महाधिवेशन प्रतिनिधिको कार्ड पाइसकेका छन्, हामी भने मतदानबाट वञ्चित हुने अवस्था आयो।’
बोगटीले निर्वाचन समितिसमक्ष पनि यसबारे जानकारी गराइएको बताए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।