फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले एमालेले महाधिवेशनमा अपनाएको नेतृत्व छनौटप्रति कटाक्ष गरेका छन्।
‘नेकपा (एमाले)को यस्तै महाधिवेशन हुँदै गर्दा मतदाताहरु नारायणीको तिरमा घाम तापिरहनुभएको थियो। आँखाचाहिँ होटलमा थियो। सबैको आँखा सौराहाको रिसोर्टमा थियो, त्यहाँबाट बा निस्कनुहुन्छ र लिस्ट पढ्नुहुन्छ भन्ने,’ आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले भने।
कांग्रेसमा कुनै ‘बा’ले पढेको लिस्टको केही अर्थ नभएको उनको भनाइ छ। ‘यहाँ मतदाताले जसलाई ढ्वाङमा मत हाल्छन्, त्यही सभापति हो। जसलाई मत हाल्छन्, उही पदाधिकारी हो। यो महाधिवेशनको सुन्दरता त्यही हो। प्रक्रिया त्यही हो। हामी सबै मिलेर महाधिवेशनलाई सफल बनाउँछौं,’ उनले भने।
थापाले आफ्नो समूहको विजयपछि कांग्रेसलाई बलियो र व्यवस्थित बनाउने बताए। उनले आफ्नो समूहलाई मत दिएर पार्टीको सेवा गर्ने अवसर दिन आग्रह गरे।
सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले भने, ‘नेपालको सबैभन्दा बलियो, शक्तिशाली, संगठित, जनमुखी पार्टी र सबैभन्दा व्यवस्थित पार्टी पनि, मिनेन्द्र रिजाल र म महामन्त्रीको उम्मेदवार भएका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।