काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार काठमाडौंका दुई फरक स्थानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट आफूलाई हटाउन सक्ने आशंका व्यक्त गरे। बिहान भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभापतिको उम्मेदबार पराजित भएमा प्रधानमन्त्रीबाट हटाउने र हट्नुपर्छ भनेर हल्ला गर्ने भएकाले मत दिएर जिताउन आग्रह गरे।
राजधानीमा चलिरहेको महाधिवेशनमा अन्तिम नामावली प्रकाशन भइरहँदा देउवा एकपछि अर्को कार्यक्रममा बोल्दै आफूलाई जिताउन यसरी अनुनय विनय गरिरहेका थिए।
देउवाले यही आशय दिउँसो भएको अर्को कार्यक्रममा पनि देखाए। लैनचौरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही कुरालाई दोहर्याउँदै थप प्रष्टिकरण दिए। ‘अहिले सभापति पनि छु। प्रधानमन्त्री पनि छु। पार्टी सभापति नै प्रधानमन्त्री भएको हुनाले मैले चुनाव हारेँ भने प्रधानमन्त्री नै हार्यो भन्छन्। सभापति हार्यो भन्दैनन्’ उनले भने ‘ नैतिकताको प्रश्न उठाउँछन् भनेको हो। नैतिकताको आधारमा प्रधानमन्त्रीबाट हट्नुस् भन्न पनि सक्छन् भनेको हो। मैले सभापतिमा हारे पनि प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने बाध्यता छैन।’ उनले आफ्नो केही बचाउ त गरे, आफूले कुनै पनि अवस्थामा जित्नुपर्ने अवस्था रहेको दाबी पनि सँगै गरे।
‘सभापतिमा हारे पनि प्रधानमन्त्री हार्यो भन्छन्,’ उनले भने, ‘त्यसैले पनि मैले जित्नु आवश्यक रहेको छ।’ उनले यसको व्याख्या अरु नलगाउन अनुरोध गरे।
यसरी उनले अनुरोध गरिहँदा उनका प्रतिस्पर्धीहरुले आफूहरु पहिलो पटकमै विजयी हुनेदेखि दोस्रो चरणमा मात्र सभापतिको निर्क्यौल हुने भएकाले देउवाविरुद्ध आफूहरु एक हुने बताइरहेका थिए। सभापतिका उम्मेदवार शेखर कोइरालाले पहिलो पटकमै आफू विजेता हुने दाबी गरेका छन् भने कुनै समय देउवा गुटकै 'खम्बा' रहेका विमलेन्द्र निधिले पहिलो चरणमा सभापति कोही पनि नहुने र दोस्रो चरणमा देउवाविरुद्ध आफूहरु एक ठाउँमा उभिने बताए।
सभापति हारेमा देउवाले प्रधानमन्त्री पद पनि छाड्नुपर्छ?
देउवा आफैंले पनि सभापतिको प्रतिस्पर्धामा हार्दैमा प्रधानमन्त्रीबाट हट्नै पर्ने बाध्यता नरहेको बताइसकेका छन्। संवैधानिक कानुनका जानकारहरु पनि सभापतिमा हार्दैमा देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता (व्यवस्था) नभएको बताउँछन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले ‘पार्टीको सभापति पदमा पराजित हुँदैमा प्रधानमन्त्री पद नै छोड्नुपर्ने भन्ने वाध्यात्मक व्यवस्था संविधानमा नभएको बताए। ‘यो संविधानभन्दा पनि नैतिकता कुरा हो,’ उनले भने, ‘संविधानले कतै यस्तो भनेको छैन र अन्य कानुनमा पनि लेखिएको छैन।’
संसदीय अभ्यासको जननी देश बेलायतमा भने उच्च नैतिकता देखाउने अभ्यास रहेकाले यस्तो हुने गरेको उनले बताए। 'पार्टी निर्वाचनमा पराजित भयो वा पार्टीको नेतृत्वमा आउन असफल भयो भने उसले स्वत: अरुलाई सुम्पने गरेको त्यहाँको इतिहास छ,' केसीले भने।
यस्तो छ संविधानमा व्यवस्था
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। धारा ७६ को उपधारा (१) ,(२) र (३) ले प्रधानमन्त्री नियुक्तीको परिकल्पना गरेको छ। उपधारा (१)मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने भनिएको छ। उपधारा (२) मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने भनिएको छ।
शेरबहादुर देउवा संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को (३) अनुसार विश्वासको मत नलिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्।
उक्त समयमा देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै संविधानको धारा ७६ को ५ अनुसार १४६ सांसदहरुले हस्ताक्षर बुझाएका थिए। तर, राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओली र देउवा दुवैको प्रस्ताव अस्वीकार गरेपछि दोस्रोपटक प्रतिनिधि सभा विघटन हुदै नयाँ निर्वाचन घोषणा भएको थियो। तर, त्यसविरुद्ध गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर भयो। सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन बदर गर्दै बहुमत पेस भएकाले प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भनि परमादेश जारी गर्यो। यसरी गठवन्धनका नेता मिलेर सरकार गठन भएको ५ महिना पुगेको छ।
सत्ता गठवन्धनभित्रका नेताहरु अब हुने स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्म पनि गठबन्धन नै गरेर जाने बताइरहेका छन्। तर, काग्रेस भित्र निर्वाचनमा गठवन्धन हुन नसक्ने भन्ने मत पनि बलियो रहेको छ।
केही समय अघि प्रधानमन्त्री देउवालले पनि राष्ट्रिय सभाको निर्वाचनसम्म गठबन्धन रहेको र त्यसपछि कांग्रेस आफ्नै तरिकाले निर्वाचनमा जाने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।